माउन्ट मकालु स्कुलद्वारा मधेश महिला क्रिकेट विजेता खेलाडी ईशिका पटेल सम्मानित, ५० प्रतिशत छात्रवृत्ति पनि दिइने
वीरगञ्ज । माउन्ट मकालु इंग्लिश बोर्डिङ स्कुलले आफ्नी छात्रा ईशिका पटेललाई उत्कृष्ट क्रिकेट प्रदर्शनको कदर गर्दै सम्मान गरेको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोक बाटिकास्थित विद्यालयले बुधबार एक समारोहबीच कक्षा १० मा अध्ययनरत ईशिका पटेललाई प्रशंसा–पत्र प्रदान गर्दै सम्मान गरेको हो।
विद्यालयका प्रिन्सिपल राहुल श्रीवास्तवले उनलाई प्रशंसा–पत्र प्रदान गर्दै विद्यालयको नामलाई उचाइमा पुर्याएकोमा धन्यवाद तथा बधाई दिएका थिए।
ईशिका पटेल पर्सा महिला क्रिकेट टोलीमा छनोट हुनुका साथै प्रथम मधेश प्रदेश महिला क्रिकेट प्रतियोगितामा टोलीलाई विजेता बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। विद्यालय प्रशासनले उनको मेहनत, अनुशासन र खेलप्रतिको समर्पणको उच्च प्रशंसा गर्दै यस उपलब्धिले विद्यालय तथा समुदायको गौरव बढाएको जनाएको छ।
प्रिन्सिपल श्रीवास्तवले विद्यालयले गुणस्तरीय शिक्षासँगै अतिरिक्त खेलकुद क्षेत्रमा समेत उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको बताए। उनले ईशिकाको सफलता अन्य विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेको उल्लेख गरे।
उनको उत्कृष्ट प्रदर्शनको सम्मानस्वरूप विद्यालयले शैक्षिक सत्र २०८३ का लागि ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने घोषणा समेत गरेको छ।
विद्यालय परिवारले ईशिकाको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्न शुभकामना दिएको छ।