बहुअरी ड्राइपोर्ट चोकबाट मानसिक अवस्थामा कमजोर पुरुषको मानवसेवा आश्रमद्वारा उद्धार

78

 

मंसिर १५ वीरगञ्ज आनन्द पटेल।

मानवता र सामाजिक सेवाको उदाहरण प्रस्तुत गर्दै मानवसेवा आश्रम वीरगञ्ज शाखाले पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका–२५ स्थित बहुअरी ड्राइपोर्ट चोकबाट एक जनाको सफल उद्धार गरेको छ। सोमबार, दिउँसो करिब ३:१५ बजे गरिएको उद्धारका क्रममा ती पुरुष मानसिक अवस्था कमजोर रहेका र आफ्नो नाम–थर खुलाउन नसक्ने अवस्थामा फेला परेका थिए। उनी अन्दाजी ३५ वर्ष उमेरका रहेको आश्रमले जनाएको छ।

उद्धार कार्यमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ता, आश्रमकी संयोजक मुना मगर, आश्रममा सेवारत प्रहरी जवान नगेश्वर यादव, साथै प्रहरी चौकी श्रीसियाबाट खटिएका प्रहरीको महत्वपूर्ण उपस्थिति रहेको थियो। स्थानीयले देखाएको सूचना र सहयोगपछि उक्त पुरुषलाई सुरक्षित रूपमा आश्रम ल्याउन सफल भएको आश्रमका प्रतिनिधीहरूले बताए।

आश्रममा लगेपछि ती पुरुषको प्राथमिक सरसफाइ, नुहाइ–धुहाइ तथा कपडा परिवर्तन गराइएको छ। त्यसपछि डा. भरत गोईको चिकित्सकीय निगरानीमा आवश्यक स्वास्थ्य परीक्षण र औषधोपचार सुरु गरिएको आश्रमले जानकारी दिएको छ। आश्रमका अनुसार उनको शारीरिक तथा मानसिक अवस्था सुधार नहुन्जेलसम्म आवास, भोजन र सम्पूर्ण हेरचाहको जिम्मेवारी आश्रमले लिनेछ।

मानवसेवा आश्रम वीरगञ्जले सडकमा परित्‍यक्त, आश्रयविहीन, असहाय र स्वास्थ्य समस्यामा परेका व्यक्तिहरूलाई उद्धार गर्दै समाजमा मानवता र सेवामूलक कार्यको सन्देश फैलाइरहेको छ। पछिल्ला वर्षमा आश्रमले वीरगञ्ज र आसपासका क्षेत्रमा सयौँ व्यक्तिहरूलाई उद्धार गरी उपचार तथा पुनर्स्थापना गरेको छ।

सार्वजनिक स्थानमा कमजोर अवस्थामा भेटिएका नागरिकलाई उपेक्षा नगरी यस्तो संस्थाले सुरक्षित आश्रय, उपचार र संरक्षण प्रदान गर्नु समाजका लागि प्रेरणादायी रहेको स्थानीयवासीको प्रतिक्रिया छ।

Leave A Reply

Your email address will not be published.