वीरगञ्ज, कात्तिक २८
विश्व मधुमेह दिवसको अवसरमा लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी तथा लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीको संयुक्त आयोजनामा आज वीरगञ्जको घडिअर्वा पोखरीमा निःशुल्क मधुमेह परीक्षण शिविर आयोजना गरिएको छ। स्थानीयवासीहरूको स्वास्थ्य सुरक्षालाई लक्षित गरिएको यस शिविरमा रक्त–शर्करा परीक्षण, रक्तचाप मापन तथा स्वास्थ्य परामर्शसहितका सेवा प्रदान गरिएको थियो।

निलकण्ठ हस्पिटल एण्ड रिसर्च सेन्टर वीरगञ्जका अनुभवी चिकित्सक डा. विवेक यादवको नेतृत्वमा स्वास्थ्यकर्मी र प्राविधिक टोलीले शिविरमा सहभागीहरूलाई मधुमेहका कारण, जोखिम, रोकथाम तथा उपचारबारे विस्तृत जानकारी प्रदान गरे। समुदायस्तरमै यस्ता कार्यक्रममा पहुँच पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य विशेषज्ञहरूले निरन्तर स्वास्थ्य परीक्षण गर्न र जीवनशैलीमा सुधार ल्याउन सहभागीहरूलाई आग्रह गरे।
कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट चिफ लायन विजय गुप्ताले स्वास्थ्य–केन्द्रित गतिविधिहरू समुदायलाई सचेत बनाउन अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै, लायन्स क्लबहरू आगामी दिनमा पनि थप स्वास्थ्यमूलक जनचेतना कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे।
स्वास्थ्य शिविरमा ३१५ जनाले मधुमेह परीक्षण, रक्तचाप मापन तथा स्वास्थ्य परामर्श गराएका थिए। समुदायमा बढ्दो मधुमेह जोखिम र त्यसबारे आवश्यक जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसकी डिष्ट्रिक्ट चिफ लायन आशमा सिंह यादवले बताइन्।
लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीकी अध्यक्ष लायन पिंकी साहको अध्यक्षतामा सम्पन्न शिविरमा डिष्ट्रिक्ट डेपुटी चिफ लायन विजय कुशवाहा, जोन चेयरपर्सन लायन सुनिल गुप्ता, उपाध्यक्ष लायन गोविन्द साह कानु, पिंक सिटीकी उपाध्यक्ष लायन कुसुम वर्णवाल, लायन सुमन वर्णवाल, लायन ब्युटी जैसवाल, निलकण्ठ हस्पिटलका सिएमए दिनेश साह, ल्याब प्राविधिक उपेन्द्र यादव लगायत अन्य लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।