विश्व मधुमेह दिवस–२०२५ : नेशनल मेडिकल कलेज र रोटार्याक्ट क्लबद्वारा निःशुल्क स्वास्थ्य परीक्षण, १४१ जनाले गराए जाँच
कात्तिक २८, वीरगञ्ज आनन्द पटेल
विश्व मधुमेह दिवस–२०२५ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको पहल तथा रोटार्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जको सहकार्यमा वीरगञ्जको घडिअर्वा पोखरीमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न गरिएको छ। स्थानीय बासिन्दालाई ब्लड सुगर परीक्षण, BMI चेकअप, रक्तचाप मापन तथा मधुमेहसम्बन्धी स्वास्थ्य परामर्श प्रदान गरिएको यो स्वास्थ्य शिविर अत्यन्तै सफल रहेको आयोजकले जनाएको छ।

बिहान ६ बजेदेखि ८ बजेसम्म सञ्चालन भएको शिविरमा कुल १४१ जनाले स्वास्थ्य परीक्षण गराएका थिए, जसमा १२४ पुरुष र १७ महिला सहभागी रहे। स्थानीयबासीको सक्रिय सहभागिताले समुदायमा मधुमेहबारे चेतना र नियमित स्वास्थ्य परीक्षणको आवश्यकता बढ्दो रहेको स्पष्ट देखिएको थियो।
कार्यक्रमका वक्ताहरूले मधुमेह विश्वभर बढ्दो जनस्वास्थ्य चुनौती बनेको भन्दै यसको रोकथाम, प्रारम्भिक पहिचान र नियमित निगरानीका लागि निरन्तर जनचेतना अपरिहार्य रहेको बताएका थिए। साथै, समुदायमुखी स्वास्थ्य सेवालाई प्राथमिकता दिंदै आएको नेशनल मेडिकल कलेजको निरन्तर योगदानको प्रशंसा पनि गरिएको थियो।
कार्यक्रममा नेशनल मेडिकल कलेजतर्फबाट डा. अनिल साह, कन्सल्टेन्ट; इञ्जिनियर प्रदीप चौधरी, मुख्य सूचना अधिकारी; जितेश चन्द्र दास, मार्केटिङ प्रबन्धक; ब्रज किशोर चौधरी, ओपरेशन्स तथा क्वालिटी प्रबन्धक; बिश्वनाथ कन्थ, वरिष्ठ प्रशासन अधिकृत तथा डा. प्रसान्त भण्डारी, प्रेसिडेन्ट–स्टुडेन्ट क्लब उपस्थिति रहेका थिए।
त्यस्तै, Rotaract Club of United Birgunj तर्फबाट रोजनी भट्टराई, अध्यक्ष; शुजल ठाकुर, सचिव; तथा सन्दीप राज ओझा, कार्यक्रम संयोजक सक्रिय रूपमा सहभागी थिए। स्थानीय समुदाय, स्वयंसेवक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा रोटार्याक्ट सदस्यहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई सफल र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।