अध्यक्ष श्रीवास्तव: विद्यार्थीलाई थप अवसर दिन शनिबार पनि विद्यालय खोलिन्छ
३१ भदौ वीरगन्ज , आनन्द पटेल
हैजा, कोरोना र हालैको जेनजी आन्दोलनका कारण लामो समयसम्म पठनपाठन प्रभावित भएको भन्दै निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) महानगर कमिटीले अबदेखि शनिबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छब।
महानगर कमिटीका अध्यक्ष राहुल श्रीवास्तवका अनुसार दशैं नजिकिएसँगै विद्यार्थीहरूको पढाइमा थप सुधार ल्याउने उद्देश्यले शनिबार विद्यालय बन्द नगरी सञ्चालन गर्ने तयारी गरिएको हो। उनले भने, “विद्यार्थीहरूको सिकाइमा परेको खाडल हटाउन शनिबारको दिनलाई पनि पठनपाठन र अतिरिक्त गतिविधिमा प्रयोग गर्नुपर्ने देखिएको छ।”
उनका अनुसार शनिबारको कक्षा नियमित दिनभन्दा फरक ढंगले सञ्चालन हुनेछ। यस दिन पाठ्यपुस्तकसँगै सिर्जनात्मक, व्यवहारिक र अतिरिक्त क्रियाकलापमा जोड दिइनेछ।
प्याब्सन महानगर कमिटीले सबै सदस्य विद्यालयलाई शनिबार पनि पठनपाठन सञ्चालन गर्न आग्रह गरेको छ। साथै, अभिभावक, विद्यार्थी र शिक्षकसँग सहकार्य गरेर यसलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले समेत यस निर्णयलाई स्वागत गर्दै यसले विद्यार्थीहरूको सिकाइमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।