आँखा, कान, नाक-घाँटी जाँचसहित रोयल एकाडेमीमा स्वास्थ्य शिविर सम्पन्न, ६०० भन्दा बढी विद्यार्थी लाभान्वित

52

चैत्र ७, वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नं. १४ स्थित रोयल एकाडेमी स्कूलमा शनिबार “रोयल स्वास्थ्य समर्पण” अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ।

शिविरमा विद्यार्थीहरूको आँखा, कान, नाक तथा घाँटी सम्बन्धी स्वास्थ्य परीक्षण गरिएको थियो। वरिष्ट बालरोग विशेषज्ञ डा. अशोक दास, डा. महेश धामी तथा डा. सेस्मा रिजालको चिकित्सक टोलीले विद्यार्थीहरूको चेकजाँच गरेको विद्यालयले जनाएको छ।

चेकजाँचका क्रममा विद्यार्थीहरूलाई आवश्यक स्वास्थ्य परामर्श दिइनुका साथै आवश्यकता अनुसार औषधि सिफारिस गरिएको थियो। कार्यक्रममा ६०० भन्दा बढी विद्यार्थीहरूले सेवा लिएका थिए भने अभिभावकहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रम विद्यालयकी डाइरेक्टर सबनम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो। सो अवसरमा विद्यालयका सञ्चालक ओम श्रेष्ठ, प्रिन्सिपल विजया ओझैया, शिक्षक-शिक्षिका तथा अभिभावकहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको व्यवस्थापन भाइस प्रिन्सिपल सुमन श्रेष्ठको नेतृत्वमा गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रिन्सिपल विजया ओझैयाले विद्यार्थीहरूको समग्र विकासका लागि स्वास्थ्य र शिक्षा दुवै पक्ष महत्वपूर्ण रहेको बताइन्। उनले यस्ता निःशुल्क स्वास्थ्य शिविरले बालबालिकामा स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै समयमै रोग पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। साथै विद्यालयले आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।

Leave A Reply

Your email address will not be published.