ईन्दु झवराह रिसोर्टले सुरु गर्यो “वन जोगाऔं–पर्यावरण बचाऔं” अभियान

130

पर्सा — पर्सागढी नगरपालिका–३ झवराहस्थित ईन्दु झवराह जंगल रिसोर्टले वन संरक्षण र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै नयाँ अभियान सुरु गरेको छ। यस अन्तर्गत, सबैया साझेदारी वन उपभोक्ता समूहका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई स्वागत तथा सम्मान गरिएको छ।

रिसोर्ट परिसरमा आयोजित कार्यक्रममा सञ्चालकले नव निर्वाचित सदस्यहरूलाई खादा लगाएर सम्मान व्यक्त गरे। कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडा, डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमद, सबैया सब–डिभिजन कार्यालयकी रेन्जर कविता दास, वन उपभोक्ता समूहका अध्यक्ष लखनलाल साह, उपाध्यक्ष असलम आलम लगायत विभिन्न सरोकारवालाहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।

कार्यक्रमको मूल नारालाई “वन जोगाऔं–पर्यावरण बचाऔं” राख्दै वन संरक्षण र पर्यटन विकासलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिइयो। रिसोर्टका प्रबन्धक मणिन्द्रलाल नेपालीले पर्सा क्षेत्रमा पहिलोपटक जंगल रिसोर्ट सञ्चालन गरी प्रकृति, वन्यजन्तु र जैविक विविधताको अवलोकन गराउने लक्ष्य रहेको बताए।

उनले पर्यटक आकर्षण बढाउन र पर्यटन उद्योगलाई टेवा पुर्‍याउनका लागि केही पूर्वाधार विकास आवश्यक रहेको उल्लेख गरे। त्यसअनुसार, साझेदारी वनदेखि पर्सा राष्ट्रिय निकुञ्जको महादेव पोस्टसम्म ग्राभेल सडक निर्माण, हात्तीसार सञ्चालनमा ल्याउने, प्रयोगविहीन पोखरी क्षेत्रमा भ्यू टावर निर्माण, र वन्यजन्तुका लागि पानीको व्यवस्थापन गर्न पोखरी निर्माण गर्नुपर्ने सुझाव राखियो।

जंगल क्षेत्रमा अनियन्त्रित मानव प्रवेशका कारण वन विनाश बढ्दै गएको भन्दै तारबारसहित एकद्वार प्रणाली लागू गर्नुपर्ने सुझाव पनि प्रस्तुत गरियो। रिसोर्टले यस्ता संरचना निर्माण तथा व्यवस्थापनको जिम्मेवारी लिन तयार रहेको जनाएको छ।

कार्यक्रमका वक्ताहरूले वन संरक्षण, स्थानीय सहभागिता र पर्यापर्यटन विकासलाई सन्तुलित रूपमा अघि बढाउन सके पर्सालाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.