एनआई कलेजलेद्वारा दृष्टिविहिन विद्यार्थीहरुलाई एक थान ल्याप्टप र कम्प्यूटर सहयोग
बीरगञ्ज । बीरगञ्ज स्थित नेशनल इन्फोटेक कलेजले दृष्टिविहिन छात्र–छात्राहरुका लागि एक थान कम्प्यूटर तथा ल्यापटप सहयोग गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पहलमा नेशनल इन्फोटेकले स्थानिय त्रिजुद्ध माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन बालबालिकाहरुका लागि उक्त सामाग्री सहयोग गरेको हो ।
त्रिजुद्ध माविको प्रांगणमा एक आयोजित कम्प्यूटर तथा ल्यापटप वितरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारीले निजी क्षेत्रले निर्वाह गर्नुपर्ने सामाजिक उत्तरदायित्वका बारेमा औंल्याउंदै नेशनल इन्फोटेकको पहलले अन्य क्षेत्रलाई सामाजिक क्षेत्रमा सेवा गर्न प्रेरित गर्ने बताउनुभयो । वहांले फरक क्षमता भएका बालबालिकाको सर्वाङ्गिण विकासका लागि आवश्यक हरेक क्षेत्रमा आफु सदैव आगाडी आउने बताउंदै सहयोगी कलेज प्रति आभार प्रकट गर्नुभयो । उक्त अवसरमा वहांले विद्यार्थीहरुका समस्याबारे जानकारी समेत लिनुभएको थियो ।
सोही अवसरमा बोल्दै कलेजका निर्देशक मनिष सिंहले यसप्रकारको अवसर जुराईदिनुभएकोमा प्रमुख जिल्ला अधिकारीलाई धन्यवाद दिंदै फरक क्षमताका विद्यार्थीहरुलाई सहयोग गर्दा आफूलाई खुशी लागेको बताउनुभयो । वहांले केही दिनमा त्रिजुद्धमा अध्ययनरत १४ जना विद्यार्थीहरुका लागि स्कूल ब्याग र एक वर्षका लागि कपी–कलम लगायतका सामाग्री दिने बताउनुभयो । बालबालिकाहरुलाई सामाजिक सेवामा अग्रसर हुन प्रेरणा दिने यसप्रकारका कार्यक्रमहरुमा आफ्ना कलेजका बिधार्थीहरु समेतलाई सहभागी गराउने उद्घोष सोही अवसरमा सिंहले गर्नुभयो ।
कार्यक्रममा नेशनल इन्फोटेक कलेजका सञ्चालकद्वय, यूवा नेता सुधीर पटेल, त्रिजुद्धका प्रअ नविन मिश्र, समाजसेवी कमल चौगाईं, पत्रकार लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन मार्टिन मोक्तानले गरेका थिए ।