एमाले अध्यक्ष ओली: परिणाम हाम्रो पक्षमा आएन, तर जनताप्रतिको प्रतिबद्धता जारी
२८ फागुन, काठमाडौं। केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनमा परिणाम अपेक्षा गरेजस्तो नभए पनि जनताको मतलाई पूर्ण सम्मान गर्ने बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत मतदाताहरूलाई धन्यवाद व्यक्त गर्दै ओलीले जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउने प्रतिवद्धता व्यक्त गरे।
झापा ५ बाट उम्मेदवार बनेका ओली आफैं पराजित भएका छन्। उनको पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रत्यक्ष निर्वाचनमा जम्मा ९ सिट मात्र जितेको छ।
ओलीले भने, “यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।”
साथै उनले एमालेको पक्षमा मतदान गर्नेहरूमध्ये सबैलाई धन्यवाद दिँदै भने, “तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कमजोर भएको छैन। हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ।”