एमाले निकट युवा संघद्वारा बालेन र सुदनमाथि उजुरी, पर्सामा प्रहरीलाई निवेदन बुझाइयो
वीरगंज । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ पर्साले काठमाडौं महानगरका मेयर बालेन साह र “हामी नेपाल” संस्थाका संयोजक सुदन गुरुङ विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा सोमबार उजुरी दिएको छ।
उक्त उजुरी जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक सुदिपराज पाठकलाई बुझाइएको हो। युवा संघ पर्साका अध्यक्ष सुवास साहका अनुसार पार्टीको केन्द्रीय सर्कुलरअनुसार सोमबार मधेश प्रदेशका आठवटै जिल्लामा समान रूपमा उजुरी दर्ता गराइएको हो।
साहका अनुसार भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्तिमा तोडफोड, सिंहदरबार, सर्वोच्च अदालत र विभिन्न प्रहरी कार्यालयमा आगजनी तथा क्षतिको घटनामा मेयर बालेन साह र सुदन गुरुङ संलग्न रहेको दाबी गर्दै उनीहरूलाई कानुन अनुसार पक्राउ गरी कारवाही गर्न माग गरिएको हो।
उजुरी बुझाउनु अघि युवा संघले वीरगंजमा मोटरसाइकल र्याली आयोजना गरेको थियो। जिल्ला समन्वय समितिको प्रांगणबाट सुरु भएको र्याली नगर परिक्रमा गर्दै लाल बंगला पुगेर समापन गरिएको थियो।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य प्रभु हजरा, वीरगंज महानगर ईन्चार्ज बिचारी यादव, पर्सा अध्यक्ष विश्वम्भर शर्मा, एमाले नेता जालिम मियाँ, युवा संघका केन्द्रीय सदस्य रवि गुप्ता, सचिव राकेश महतो, युवा नेता सुजित गिरी लगायत सयौं युवा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
उजुरी बुझ्दै एसपी सुदिपराज पाठकले कानुन अनुसार आवश्यक प्रक्रिया अघि बढाइने बताएका छन्।