एयरपोर्ट जाँदा एकै खालको पोसाक, टोपी लगाउन नपाइने

1

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा, व्यवस्थापन र सञ्चालनलाई थप सहज बनाउन अब यात्रु तथा आगन्तुकहरूका लागि नयाँ व्यवस्थाहरू लागू गरिएको छ ।

गृह मन्त्रालय अन्तर्गत अध्यागमन विभागले मंगलबार एक सूचना जारी गर्दै विमानस्थलमा प्रवेश गर्ने यात्रु र आगन्तुकहरूले के के कुरामा ध्यान दिनुपर्ने स्पष्ट पारेको हो ।

सूचनामा उल्लेख भए अनुसार अध्यागमन क्षेत्र प्रवेश गर्दा खादा, माला, फूल, उपहारका सामग्री आदी लिएर जान नपाइने भएको छ । यस्ता वस्तुहरूले सुरक्षाका दृष्टिले शंका उत्पन्न गर्न सक्ने भएकाले ति सामग्रीको प्रयोग, प्रदर्शन वा उपहार स्वरूप आदानप्रदान निषेध गरिएको छ ।

साथै कुनै विशेष संस्कृति झल्किने पहिरन, झिलीमिली लुगा, टोपी, ब्याज, कुनै पहिचान युक्त वस्तु लगाएर विमानस्थल भित्र प्रवेश गर्न पाइने छैन । सूचनामा भनिएको छ, ‘यस किसिमको भेषभूषाले अवाञ्छित ध्यान तानिन सक्ने, उडान सुरक्षामा असर पर्न सक्ने र अन्य यात्रु वा सुरक्षाकर्मीमा भ्रम सिर्जना हुने भएकाले यस्ता पहिरन प्रयोग नगर्न सूचित गरिन्छ ।’

विभागले सूचनामार्फत अध्यागमन प्रक्रियालाई अझ प्रभावकारि सुरक्षित र अन्तर्राष्ट्रिय मान्यताअनुसार बनाउनका लागि सबै यात्रु, ट्राभल एजेन्सी र एयरलाइन्स कम्पनीहरूलाई यसबारे जानकारी जारी गरेसँगै पूर्ण सहकार्यका लागि अनुरोधसमेत गरेको छ ।

पछिल्लो समय भिजिट भिसा प्रकरण चर्चामा रहिरहँदा विमानस्थल अध्यागमनले यस्तो निर्देशन जारी गरेको हो ।

विभिन्न मेनपावर र व्यक्तिले भिजिट भिसामा नेपालीलाई विदेश लैजाने गरेको आरोप लाग्ने गरेको छ । जसका लागि उनीहरुले एकै खालको पोशाक वा संकेत चिह्न प्रयोग गर्ने गरेका छन् । त्यसलाई रोक्न अध्यागमनले यस्तो व्यवस्था गरेको हो ।

Leave A Reply

Your email address will not be published.