क्वाइनोनिया बिरगंज चर्चद्वारा रक्तदान कार्यक्रममा २३ जना महिला सहित ७९ जनाले गरे रक्तदान
बिरगञ्ज — क्वाइनोनिया बिरगंज चर्चले बिरगञ्ज–१६ मिथिलानगरमा “रक्तदान नै जीवनदान हो” भन्ने नारासहित रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा २३ महिला सहित ७९ जनाले रक्तदान गरेका छन्।
चर्चले विगतमा देश तथा समाजमा रहेका कुप्रथाहरुको विरोध गर्दै जनचेतना फैलाउने कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। आइतबारको रक्तदान कार्यक्रम पनि बिरगंज रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएपछि आयोजना गरिएको थियो।
कार्यक्रममा बिरगञ्ज महानगर–१६ का वडाअध्यक्ष परशुराम चौरसियाले रक्तदानको महत्वबारे चर्चा गर्दै हरेक ३ महिनामा रक्तदान गर्न सबैलाई आग्रह गरे। नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेलले रगत अभावका कारण बिरामीहरूको उपचारमा समस्या आउँदै आएको बताए र रक्तदाता तथा आयोजक परिवारप्रति आभार प्रकट गरे।
कार्यक्रमका अन्य अतिथिहरूमा शिक्षाविद् मार्टिन मोक्तान, बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, राष्ट्रिय सम्पदा संरक्षण अभियानका संयोजक जफर अन्सारी, पर्सा ख्रीस्टियन समाजका अध्यक्ष पाष्टर सिमोन राई, तथा चर्चका पदाधिकारी र स्थानीय अग्रज, महिला र युवाहरूको सहभागिता रहेको थियो।
चर्चका पाष्टर राजकुमार घोमिरेले कार्यक्रममा उपस्थित सबै रक्तदाता र सहयोगीलाई धन्यवाद व्यक्त गर्दै मानवता बलियो बनाउन रक्तदानको महत्त्वपूर्ण भूमिका रहने बताए।