चिकित्सकमाथि दुर्व्यवहार गर्ने वीरगञ्जबाट ६ जना पक्राउ
वीरगञ्ज । पर्सागढी नगरपालिका–३ झबराहास्थित इन्दु रिसोर्टमा तिलगङ्गा आँखा प्रतिष्ठानका चिकित्सकमाथि भएको दुव्र्यवहारमा संलग्न छजनालाई प्रहरीले पक्राउ गरेको छ।
आँखा शिविरका लागि तिलगङ्गा आँखा अस्पतालको चिकित्सक टोली तीन दिनदेखि सो रिसोर्टमा बसेको थियो। शनिवार राति वीरगञ्जबाट आएका युवाहरूले सो रिसोर्टमा चर्को स्वरमा साङ्गीतिक कार्यक्रम सञ्चालन गरेपछि चिकित्सकहरूलाई सुत्न कठिन भएको थियो। चिकित्सकहरूले आवाज कम गर्न आग्रह गर्दा ती युवाहरूले मदिरा सेवन गरेका अवस्थामा गालीगलौज र कुटपिट गरेको पर्सा प्रहरीले जनाएको छ।
कुटपिटका कारण सिङ्गापुर निवासी ३५ वर्षीय विदेशी चिकित्सक वाङ स्टिनको खुट्टामा सामान्य चोट लागेको छ भने ३६ वर्षीय नेपाली चिकित्सक नवीन सापकोटाको आँखा र गालामा चोट लागेको छ।
घटनामा संलग्न वीरगञ्ज महानगरपालिका–१० का २४ वर्षीय अभिषेक गुप्ता, २७ वर्षीय सार्थक सर्राफ, २४ वर्षीय रोहित साह, २७ वर्षीय विजय रञ्जन, २९ वर्षीय सुमन श्रीवास्तव र २४ वर्षीय विधान कर्णलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ। पर्सागढीमा सञ्चालित आँखा शिविरको व्यवस्थापनमा खलल पुर्याउने यो घटनाप्रति स्थानीय प्रशासनले कडा ध्यान दिएको र दोषीमाथि कानूनबमोजिम कारबाही हुने जनाइएको छ।