छपकैया तैक्वान्दो डोजाङ तथा वीरगन्ज तैक्वान्दो डोजाङको संयुक्त आयोजनामा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

57

/ वीरगन्ज, ९ पर्सा : छपकैया तैक्वान्दो डोजाङ तथा वीरगन्ज तैक्वान्दो डोजाङको संयुक्त आयोजनामा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेश खेलकुद परिषद्, मधेस प्रदेशका संस्थापक सदस्य सचिव श्री शिव गुप्ता प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा पर्सा जिल्ला खेलकुद विकास समितिका पूर्व सदस्य श्री राजाबाबु रौनियार, एथलेटिक्स प्रशिक्षक बिशेश्वर पटेल, जुडो प्रशिक्षक पृथ्वी आलोक, तथा तैक्वान्दोका राष्ट्रिय खेलाडी महम्मद वेशको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि श्री शिव गुप्ताले खेलकुदको माध्यमबाट युवा पुस्तालाई अनुशासन, आत्मविश्वास र राष्ट्रिय एकताको भावनातर्फ अभिमुख गराउन सकिने बताउँदै खेलकुद क्षेत्रको विकासमा आफू सदैव सकारात्मक साथ र सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, “स्थानीय स्तरमा भएका यस्ता कार्यक्रमहरूले राष्ट्रिय प्रतिभा उत्पादनमा महत्वपूर्ण भूमिका खेल्दछन्। आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याउन हामी तयार छौं।”

कार्यक्रमका सभापति महम्मद मन्सुरले तैक्वान्दो मात्र खेल नभई जीवनशैली र अनुशासनसँग जोडिएको विषय भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “खेलाडीहरूमा आत्मबल र आत्मअनुशासनको विकास गराउने तैक्वान्दोले युवा पुस्तालाई सही मार्गतर्फ डोर्याउन ठूलो भूमिका खेल्दछ। हाम्रो प्रयास खेलकुदलाई समाज रूपान्तरणको माध्यम बनाउनु हो।”

उहाँले स्थानीय स्तरमा खेल संरचना मजबुत बनाउन सबै सरोकारवालाको सहयोग अपरिहार्य रहेको भन्दै खेलाडीको हक, हित र भविष्यलाई केन्द्रमा राखी कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिवद्धता जनाउनुभयो।

कार्यक्रममा सहभागी खेलाडी तथा प्रशिक्षकहरूसँग हातेमालो गर्दै, नव नियुक्त सदस्य सचिव गुप्ताले सबैको हक र हितलाई मध्यनजर गर्दै समावेशी र अग्रगामी दिशामा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा तैक्वान्दो खेलाडी, प्रशिक्षक, तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

Leave A Reply

Your email address will not be published.