ट्राफिक प्रहरी परिसरमा फलफूलको बगैंचा, वृक्षारोपण मार्फत वातावरण सन्तुलनमा योगदान
वीरगञ्ज, १९ साउन
पर्सा जिल्लाको ट्राफिक प्रहरी कार्यालय परिसरमा वातावरण संरक्षण र सौन्दर्यकरणको उद्देश्यले वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्टको अगुवाइमा कार्यालय हाताभित्र विभिन्न प्रजातिका फलफूलका बिरुवाहरू रोपिएका हुन्।
कार्यक्रम अन्तर्गत करिब ५५ वटा आँप र लिच्चीका बिरुवा रोपिएको जानकारी दिइएको छ। बिरुवाहरू व्यवस्थापनमा ग्रीनसिटी सामुदायिक प्रहरी, आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानको विशेष सहयोग रहेको उल्लेख गरिएको छ।
इन्स्पेक्टर भट्टले वृक्षारोपणले कार्यालय परिसरलाई हराभरा बनाउनुका साथै सेवाग्राही नागरिकलाई शान्त र स्वच्छ वातावरण प्रदान गर्ने बताए। साथै, यो प्रयासले पर्यावरणीय सन्तुलनमा योगदान पुर्याउने विश्वास पनि व्यक्त गरे।
कार्यक्रममा प्रहरी बरिष्ठ नायब निरीक्षक गुणनिधि खकुरेल, अन्य प्रहरी कर्मचारी – सिपाही र हवल्दारहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमले प्रहरी प्रशासन र स्थानीय समुदायबीचको सहकार्यलाई मजबुत बनाएको छ। वृक्षहरूको संरक्षण र पालनपोषणको जिम्मा कार्यालयले लिने जनाएको छ।
यस पहलले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई वातावरणमैत्री र नागरिकमैत्री संस्थाको रूपमा स्थापित गर्न सहयोग गर्ने विश्वास गरिएको छ।