नवनियुक्त मन्त्रीहरूको शपथ सम्पन्न, बालेन नेतृत्वको मन्त्रिपरिषद् गठन
काठमाडौं । नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गरेका छन्। शुक्रबार (चैत १३) राष्ट्रपति रामचन्द्र पौडेल ले मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
यसअघि सोही दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि शपथ लिएका थिए। प्रधानमन्त्री शाहले रक्षा तथा उद्योग मन्त्रालयको जिम्मेवारी आफ्नै मातहतमा राखेका छन्।
नवगठित मन्त्रिपरिषद्मा स्वर्णिम वाग्ले अर्थमन्त्री नियुक्त भएका छन् भने सुधन गुरुङ गृहमन्त्री बनेका छन्।
त्यस्तै, परराष्ट्रमन्त्रीमा शिशिर खनाल, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सुनिल लम्साल लाई दिइएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय विराजभक्त श्रेष्ठ ले सम्हाल्ने भएका छन् भने पर्यटन मन्त्रालय खड्कराज पौडेल गनेश लाई दिइएको छ।
यसैगरी, कानुनमन्त्रीमा सोविता गौतम, शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्रीमा सस्मित पोखरेल, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा निशा मेहता नियुक्त भएका छन्।
सञ्चार मन्त्रालयको जिम्मेवारी विक्रम तिमिल्सिना, सामान्य प्रशासन मन्त्रालय प्रतिभा रावल, श्रम मन्त्रालय दीपक साह तथा महिला, बालबालिका मन्त्रालय सीता वादी ले सम्हाल्ने भएका छन्।
नवगठित बालेन नेतृत्वको मन्त्रिपरिषद् उपप्रधानमन्त्रीविहीन रहेको छ।