निर्वाचनको बेला पर्सामा ४ दिन सीमा बन्द, होली र रमजान शान्तिपूर्ण रूपमा मनाउन आग्रह

88

वीरगञ्ज, १६ फागुन । जिल्ला प्रशासन कार्यालय पर्साले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न अत्यन्त जरुरी सूचना जारी गरेको छ। प्रशासनले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै केही महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोग र गृह मन्त्रालयको निर्देशन, जिल्ला सुरक्षा समितिको निर्णय तथा सर्वदलीय/सर्वपक्षीय बैठकको सहमतिका आधारमा आदेश जारी गरिएको जनाइएको छ। आदेश उल्लंघन गर्नेहरूलाई प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

सीमा बन्द हुने-

प्रशासनले फागुन १८ गते (२ मार्च २०२६) सोमबार राति १२ बजेदेखि फागुन २१ गते (५ मार्च २०२६) बिहीबार राति १२ बजेसम्म पर्सा जिल्लासँग जोडिएका भारतीय सीमाना पूर्ण रूपमा बन्द रहने जनाएको छ। निर्वाचन अवधिभर आवतजावतमा कडाइ गरिने बताइएको छ।

होली र रमजान शान्तिपूर्ण रूपमा मनाउन आग्रह-

यसैबीच, प्रशासनले होली तथा रमजान पर्व मनाउने क्रममा शान्ति सुरक्षा खल्बलिने गतिविधि नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। सार्वजनिक स्थानमा हो–हल्ला गर्ने, मदिरा तथा मादक पदार्थ सेवन गरी अशान्ति फैलाउने, कसैको इच्छा विपरीत रंग र पानी छ्याप्ने, जबर्जस्ती गर्ने, भिडभाड गर्ने, मेला–महोत्सव तथा सांगीतिक कार्यक्रम आयोजना गर्ने जस्ता कार्य नगर्न निर्देशन दिइएको छ।

निर्वाचनको सुरक्षा व्यवस्थालाई प्राथमिकता दिँदै धार्मिक तथा सांस्कृतिक पर्वहरू आफ्नै घर–आँगनभित्र मर्यादित रूपमा मनाउन प्रशासनले आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको उक्त सूचनाले निर्वाचन र चाडपर्वलाई शान्तिपूर्ण तथा व्यवस्थित रूपमा सम्पन्न गर्न सबै राजनीतिक दल, उम्मेदवार, सर्वसाधारण तथा सरोकारवालासँग सहयोगको अपेक्षा गरेको छ।

Leave A Reply

Your email address will not be published.