“खेलाडी नेपालका गहना हुन”—प्रमुख यादव, एमएफएन विजेता ढाँटलाई नगद पुरस्कारको घोषणा
वीरगञ्ज, साउन २०
भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गर्दै म्याट्रिक फाइटनाइट १७ (एमएफएन १७) को उपाधि हात पारेका नेपालका रवीन्द्र ढाँटलाई सखुवा प्रसौनी गाउँपालिकाले नगद १ लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेको छ।
भारतको नोएडामा सम्पन्न उक्त मिक्स मार्सल आर्ट्स (एमएमए) प्रतियोगिता अन्तर्गत बान्टमवेट तर्फको उपाधि जित्दै ढाँटले पाँच पटकका च्याम्पियन भारतीय खेलाडी कोरेनलाई पराजित गरेका थिए। उनी एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर समेत हुन्।
सोमबार साँझ सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले ढाँटलाई नगद १ लाख रुपैयाँसहित सम्मानित गर्ने निर्णय भएको जानकारी दिए। उनले भने, “भारतकै भूमिमा भारतीय च्याम्पियनलाई हराएर नेपालीको शिर गर्वले उचो बनाएका ढाँटलाई पालिकाले सम्मान गर्ने निर्णय लिएको हो।”
अध्यक्ष यादवले ढाँटलाई गाउँपालिकामा आमन्त्रण गरेर सम्मान गरिने बताउँदै कुनै कारणबस उपस्थित हुन नसके काठमाडौँमै पुगेर सम्मान गरिने स्पष्ट पारे। उनले भने, “खेलाडीहरू राष्ट्रका गहना हुन्, उनीहरूको आत्मबल बढाउन सरकारले विशेष ध्यान दिनुपर्छ।”
ढाँटको यो ऐतिहासिक सफलता र पालिकाको सम्मानले नेपालका अन्य खेलाडीहरूलाई समेत प्रेरणा र उत्साह मिल्ने अपेक्षा
गरिएको छ।