नेपाली राष्ट्रिय टिमकी कप्तान पूजा महतो वीरगन्ज महानगरपालिकाद्धारा सम्मानित
यु–१९ विश्वकप क्रिकेटमा पुग्न सफल नेपाली राष्ट्रिय टिमकी कप्तान पूजा महतोलाई वीरगन्ज महानगरपालिकाले सम्मानित गरेको छ ।
मङ्गलवार वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले आफ्नै कार्यकक्षमा महतोलाई खादा ओढाएर नगद २५ हजार रुपैयाँ पनि प्रदान गर्दै सम्मानित गरेका हुन् । त्यस अवसरमा यु–१९ नेपाली राष्ट्रिय टिमकी सदस्य साना प्रवीणलाई पनि मेयर सिंहले सम्मानित गरे । वीरगञ्ज –१३ निवासी सानालाई यसअघि गत मङ्सिर ९ गते पनि मेयर सिंहले आफ्नै कार्यकक्षमा बोलाएर नगद ५१ हजार रुपैयाँ प्रदान गर्दै सम्मानित गरेका थिए ।
गत मङ्सिरमा सम्पन्न यु–१९ टी–२० महिला एसिया क्वालिफायरमा थाइल्यान्डविरुद्धको खेलमा सानाले अर्धसत्तक प्रहार गर्दै कप्तान पूजा महतोसँग मिलेर नेपालका लागि कीर्तिमानी साझेदारी गरेकी थिइन् ।
मङ्गलवारको सम्मान कार्यक्रममा मेयर सिंहले क्रिकेटको माध्यममार्फत मधेस र नेपालको नाम विश्वमै चिनाउन सफल भएको भन्दै कप्तान महतो र सानाको मनोबल र हौसला बढाउन सम्मानित गरिएको बताए ।
मधेसका छोरीहरूले पनि केही गर्न सक्छन् है भन्ने उदाहरणको पात्रका रूपमा दुवै जना बनेको भन्दै उनले आउँदा दिनमा अझै मेहनत गरेर मधेस र नेपालको नाम विश्वमा अझ धेरै चिनाउन दुवैलाई आग्रह पनि गरे ।
- त्यस अवसरमा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, पर्साका प्रहरी उपरीक्षक कुमोध दुंगेल, पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंह,वीरगन्ज–४ का वडाध्यक्ष जगत् साह कानु लगायतकोपनि उपस्थिति थियो ।