प्याब्सन टी–१० क्रिकेटमा रोयल एकाडेमी स्कूल उत्कृष्ट अनुशासन सम्मानबाट सम्मानित
पौस १५ वीरगञ्ज । आनन्द पटेल
निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालन भइरहेको दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एन्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत रोयल एकाडेमी स्कूल उत्कृष्ट अनुशासन (Discipline) पुरस्कारबाट सम्मानित भएको छ।
मंगलबार आदर्शनगरस्थित रंगशालामा सम्पन्न प्रतियोगिताको समापन समारोहमा प्रतियोगिताभर अनुशासन, खेल भावना र मर्यादित प्रस्तुतिका कारण रोयल एकाडेमी स्कूललाई उक्त सम्मान प्रदान गरिएको हो। आयोजक प्याब्सन वीरगञ्ज महानगर समितिले विद्यालयलाई प्रमाणपत्र र सिल प्रदान गर्दै औपचारिक रूपमा सम्मानित गरेको थियो।
सम्मान ग्रहण गर्दै विद्यालयकी डाइरेक्टर सबनम श्रेष्ठले प्रतियोगिताको सफल आयोजना गरेकोमा आयोजक प्याब्सन वीरगञ्जप्रति आभार व्यक्त गरिन्। उनले रोयल एकाडेमी स्कूल शिक्षा क्षेत्रसँगै खेलकुदको क्षेत्रमा पनि निरन्तर अगाडि बढिरहेको उल्लेख गर्दै, त्यसैको परिणामस्वरूप विद्यालय आज उत्कृष्ट अनुशासन पुरस्कारबाट सम्मानित हुन पाएकोमा खुशी व्यक्त गरिन्।
डाइरेक्टर श्रेष्ठले यो सम्मानले विद्यार्थीहरूमा अनुशासन, नैतिकता र व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै शिक्षा र खेलकुदको सन्तुलित विकास विद्यालयको प्रमुख लक्ष्य रहेको बताइन्। साथै उनले अनुशासित रूपमा प्रतियोगितामा सहभागी भई विद्यालयको नाम उच्च राख्न सफल सम्पूर्ण विद्यार्थी खेलाडीहरूलाई हार्दिक बधाई ज्ञापन गरिन्।
पछिल्लो समय रोयल एकाडेमी स्कूलले शैक्षिक उपलब्धिसँगै खेलकुद क्षेत्रमा समेत उल्लेखनीय प्रगति गर्दै आएको देखिन्छ। विद्यालयको अनुशासन, व्यवस्थापन र समग्र प्रस्तुति अभिभावक तथा शिक्षासम्बद्ध व्यक्तिहरूको ध्यान आकर्षित गर्न सफल हुँदै गएको छ।