प्रधानमन्त्री कपमा आर्मीको एकतर्फी जीत, कर्णाली १३८ रनले पराजित
बीरगञ्ज, पर्सा: आनन्द पटेल
प्रधानमन्त्री कप २०२६ अन्तर्गत सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई १३८ रनको फराकिलो अन्तरले पराजित गरेको छ। बीरगञ्जस्थित टीबी शाह क्रिकेट मैदानमा सम्पन्न उक्त खेलमा आर्मीले उत्कृष्ट प्रदर्शन गर्दै एकतर्फी जित हात पारेको हो।
पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले निर्धारित ४८ ओभरमा १० विकेट गुमाउँदै २६८ रनको योगफल तयार पारेको थियो। आर्मीका लागि अर्जुन साउदले उत्कृष्ट ब्याटिङ गर्दै १२० बलमा १२१ रन बनाए। उनले आफ्नो इनिङ्समा ३ छक्का र १० चौका प्रहार गरे। यस्तै, बासिर अहमदले ७० बलमा ४५ रनको योगदान दिए।
कर्णाली प्रदेशका लागि दिनेश अधिकारीले ४ विकेट लिँदा विकास जैसीले ३ विकेट हात पारे।
२६९ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश ४२.१ ओभरमा सबै विकेट गुमाउँदै १३० रनमै समेटियो। कर्णालीका लागि अर्जुन घर्ती मगरले ५८ बलमा ९२ रनको उत्कृष्ट इनिङ्स खेले पनि अन्य ब्याटरहरूले साथ दिन सकेनन्। विपिन विक्रम शाही ठाकुरीले ७० बलमा ४० रन बनाए।
आर्मीका बलर शहबाज आलमले ३ विकेट लिए भने बासिर अहमदले पनि प्रभावशाली बलिङ गर्दै ३ विकेट लिए।
उत्कृष्ट अलराउण्ड प्रदर्शनका लागि अर्जुन साउद ‘प्लेयर अफ द म्याच’ घोषित भए।