बैतडीमा जन्ती बोकेको बस दुर्घटना: मृतक संख्या १३ पुग्यो, सबैको सनाखत

43

बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृतक सबै १३ जनाको सनाखत भइसकेको प्रहरीले जनाएको छ ।

पुर्चौडी नगरपालिका–७ भौनीबाट जन्ती लिएर फर्किंदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस सोही वडाको बढ्गाउँ मोडमा गएराति दुर्घटनामा परेको हो । बस सडकबाट करिब २ सय मिटर तल खसेर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

विहीबार रातिसम्म ८ जनाको मृत्यु पुष्टि भएकोमा थप ५ जनाको डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरीका सूचना अधिकारी इन्सपेक्टर बलदेव बडुका अनुसार डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा बझाङ बित्थडचिर गाउँपालिका–७ का १७ वर्षीय बिसनदत्त जोशी, अन्दाजी २७ वर्षीय दीपक जोशी र अन्दाजी ४५ वर्षीय किसनदत्त जोशी रहेका छन् । यस्तै बझाङ केदारस्यु गाउँपालिका–७ का अन्दाजी २६ वर्षीय केशवराज भट्ट र बैतडी पुर्चौडी नगरपालिका–७ का अन्दाजी १४ वर्षीय सुशील जोशीको पनि मृत्यु भएको छ ।

यसअघि मृत्यु हुनेमा बझाङ बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेशराज जोशी छन् । साथै बझाङ केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट र जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतला पनि मृतकको सूचीमा छन् ।

दुर्घटनामा घाइते भएकामध्ये २५ जनाको डडेलधुरा अस्पतालमा र ४ जनाको बझाङको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइतेमध्ये ५ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।

बस चालक विरेन्द्र बुढालाई नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । जन्ती सवार बस बझाङको सुनकुडातर्फ फर्किंदै गर्दा दुर्घटनामा परेको हो । बेहुला–बेहुली भने अर्को गाडीमा सवार रहेकाले सकुशल रहेका छन् ।

Leave A Reply

Your email address will not be published.