भव्य कार्यक्रमबीच सन साइन इंग्लिश बोर्डिङ स्कूलले मनायो वार्षिक उत्स
वीरगन्ज, चैत्र २ | आनन्द पटेल
वीरगन्ज महानगरपालिका वडा नं. १४ पिपरा स्थित सन साइन इंग्लिश बोर्डिङ स्कूलको वार्षिक उत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। सोमबार वीरगञ्जको क्लासिक होटलमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो।
कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ८ सम्मका विद्यार्थीहरूले उत्कृष्ट सांस्कृतिक नृत्य, सन्देशमूलक कथा, नाटक, मनोरञ्जनात्मक प्रस्तुति लगायत विभिन्न आकर्षक कार्यक्रम प्रस्तुत गरेका थिए। उनीहरूको मनमोहक प्रस्तुतीले उपस्थित अभिभावक तथा अतिथिहरूलाई मन्त्रमुग्ध बनाएको थियो।
कार्यक्रमको उद्घाटन प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी र प्याब्सन वीरगञ्ज महानगरका अध्यक्ष राहुल श्रीवास्तवले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा विद्यालयका डाइरेक्टर अमित आलोक कुशवाहाले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयले शिक्षा, अनुशासन र अतिरिक्त क्रियाकलापलाई समान रूपमा प्राथमिकता दिँदै अघि बढिरहेको बताए।
सो अवसरमा विद्यालयले आयोजना गरेको वार्षिक खेलकुद, नृत्य, वादविवाद, क्रिकेट लगायत विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा मेडल प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रमका विशिष्ट अतिथि डाक्टर प्रमोद कुशवाहाले विद्यालयको प्रशंसा गर्दै कम समयमा उत्कृष्ट शैक्षिक नतिजा हासिल गरेकोमा खुशी व्यक्त गरे। उनले आगामी दिनमा पनि विद्यालयले शिक्षासँगै व्यावहारिक ज्ञान प्रदान गर्दै अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्दै शुभकामना दिएका थिए। सोही अवसरमा विद्यालयले शिक्षा क्षेत्रमा योगदान पुर्याएको भन्दै उनलाई दोसल्ला तथा मायाको चिनो प्रदान गर्दै सम्मान गरेको थियो।
यसैगरी विद्यालयका सल्लाहकार तथा वडा नं. १४ का वडा सदस्य कुन्दन सिंहलाई पनि दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। विद्यालयमा पानीको समस्या हुँदा उनले सहयोग गरेको भन्दै विद्यालयले विशेष सम्मान गरेको हो।
विद्यालयले हरेक वर्ष प्रदान गर्दै आएको स्वर्गीय सत्यनारायण निःशुल्क छात्रवृत्ति पुरस्कार २०८३ यस वर्ष कक्षा ८ मा अध्ययनरत सञ्जीभ कुशवाहा र कक्षा ५ मा अध्ययनरत रोमा प्रजापतिलाई प्रदान गरिएको थियो।
कार्यक्रममा प्याब्सन पर्साका वरिष्ठ महिला उपाध्यक्ष तथा नवदीप एकेडेमीका प्रिन्सिपल सुशीला कुशवाहा, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई, ब्राइट पब्लिक स्कूलका डाइरेक्टर मुकेश गुप्ता, मानव सेवा आश्रमका देवेश, प्याब्सन वीरगञ्ज महानगरका कोषाध्यक्ष सुरजबाबु पटेल, जीवन ज्योति माविका सञ्चालक शिव गुप्ता, सञ्चारकर्मी जगत राई लगायत अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सो अवसरमा विद्यालयका शिक्षक–शिक्षिकाहरूलाई पनि उत्कृष्ट कार्यसम्पादनका लागि सम्मान गरिएको थियो।
कार्यक्रमको अन्त्यमा विद्यालयका सञ्चालक अमित आलोक कुशवाहाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अभिभावक, प्रमुख अतिथि, विशिष्ट अतिथि तथा उपस्थित सबैप्रति धन्यवाद व्यक्त गरे। उनले विद्यालयले बालबालिकाको शिक्षासँगै सामाजिक अनुशासन र अतिरिक्त क्रियाकलापमा पनि विशेष ध्यान दिँदै काम गरिरहेको बताए।
कार्यक्रम विद्यालयकी प्रधानाध्यापक कुमारी निधिको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन विद्यालयका कोअर्डिनेटर दीपक कुशवाहाले गरेका थिए।