भारतलाई हराउँदै अस्ट्रेलिया टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश
वीरगञ्ज । भारतलाई हराउँदै अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
बोर्डर–गावस्कर ट्रफीको पाँचौँ तथा अन्तिम टेस्टमा भारतलाई ६ विकेटले पराजित गरेपछि अस्ट्रेलिया फाइनलमा पुगेको हो ।
सिड्नीमा खेलिएको अन्तिम टेस्ट म्याच तीन दिन मात्रै चलेको थियो र यो जितसँगै घरेलु टोली अस्ट्रेलियाले भारतलाई ३–१ ले पराजित गरेको छ ।
तेस्रो दिन ब्याटिङमा आएको भारतीय टोली एक घण्टा पनि खेल्न नसकेपछि बिहान ६ स्१५ बजेअघि अलआउट भएको थियो ।
अन्तिम टेस्टमा दुवै टोली पहिलो इनिङ्सका आधारमा लगभग बराबरीमा थिए ।
टस जितेर ब्याटिङ रोजेको भारतीय टोली पहिलो इनिङ्समा १८५ रनमा अलआउट भएको थियो भने अस्ट्रेलियाले पहिलो इनिङ्समा १० विकेट गुमाएर १८१ रन बनाएको थियो ।
यस आधारमा भारतले चार रनको सानो अग्रता पायो ।
भारतको दोस्रो इनिङ्स १५७ रनमा मात्र सीमित भयो र यसपछि अस्ट्रेलियाले १६२ रनको लक्ष्य पाएको थियो ।
भारतले पाँच खेलको सिरिजको पहिलो टेस्ट २९५ रनले जितेको थियो । यस्तै तेस्रो टेस्ट ड्र भयो र बाँकी तीन खेल अस्ट्रेलियाले जित्यो ।
सिड्नीमा भएको जितसँगै अस्ट्रेलियाली टोलीले १० वर्षपछि बोर्डर–गावस्कर ट्रफी जितेको छ ।
अब साबिक विजेता अस्ट्रेलियाले आगामी जुन १५ मा दक्षिण अफ्रिकाविरुद्ध उपाधि भिडन्त गर्नेछ । यो खेल इंग्ल्यान्डको लन्डनस्थित लर्ड्स मैदानमा हुनेछ ।