मधेसमा हल्का–मध्यम वर्षा, रोपाइँ अझै अधुरो

65

साउन १८ –
लामो समयदेखि वर्षा नहुँदा चिन्तित भएका सिरहाका किसानहरूलाई गएरातिको वर्षाले केही राहत मिलेको छ। पानीको अभावका कारण रोपाइँ प्रभावित हुँदै गर्दा परेको वर्षाले खेतमा हरियालीको आशा जगाएको हो।

लहान–१८ का किसान वीरेन्द्र चौधरी भन्छन्, “बीउ पहेँलिँदै गएकाले अब त रोप्न नपाइने होला जस्तो लागेको थियो, तर गएरातिको पानीले केही आशा पलाएको छ। यद्यपि अझै पर्याप्त पानी छैन।”

कृषकहरूको भनाइ अनुसार यहाँका अधिकांश खेतहरू सुकेका थिए र रोपाइँ गर्न सकिने अवस्था थिएन। लहान नगरपालिकाका कृषि संयोजक बद्रीनारायण यादवका अनुसार राति परेको पानीले केही राहत दिए पनि त्यो पर्याप्त छैन। ूयदि अझ एक दिन निरन्तर पानी परेको भए रोपाइँ सहज हुने थियो, तर मौसमको स्थिति हेर्दा त्यस्तो सम्भावना देखिँदैन,ू उनले भने।

मनसुन सक्रिय तर प्रभाव कमजोर, कृषि कार्यालयको आँकडाअनुसार आधामात्र रोपाइँ
कृषि ज्ञान केन्द्र सिरहाका अनुसार हालसम्म जिल्लामा जम्मा ५० प्रतिशत धान रोपाइँ मात्र सम्पन्न भएको छ। सिहकाको दक्षिणी भू–भागमा भूमिगत पानीको प्रयोग गरी केही रोपाइँ भएको भए पनि उत्तरी भेगका अधिकांश किसानले अझै रोपाइँ गर्न सकेका छैनन्।

विभागको विगत २४ घण्टामा मधेसका विभिन्न स्थानमा हल्कादेखि मध्यम मात्राको वर्षा मापन गरिएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सिरहामा ९९.४ मिलिमिटर, सप्तरीको बरमझियामा ९१.८ मिलिमिटर, लहानमा ७७.२ मिलिमिटर, धनुषाको हर्दिनाथमा ४७ मिलिमिटर, चिसापानीमा ६८.२ मिलिमिटर, सिरहाको गोलबजारमा ५२.२ मिलिमिटर, महोत्तरीको गौशालामा ५७.६ मिलिमिटर, धनुषाको तुलसीमा ४७.६ मिलिमिटर तथा सर्लाहीमा ४८ मिलिमिटर वर्षा भएको छ । बारा, पर्सा र रौतहटमा भने केवल हल्का वर्षा मात्र मापन गरिएको छ ।

कृषक, कृषि कार्यालय र मौसम विभाग सबैको ध्यान अब आउने दिनको वर्षामा केन्द्रित भएको छ। सिरहा र आसपासका जिल्लामा बाँकी खेतमा रोपाइँ सम्पन्न गर्न अझै केही दिन निरन्तर पानी पर्ने खाँचो देखिएको छ।

Leave A Reply

Your email address will not be published.