युवाको जोश, परिवर्तनको आवाजः शुशिल साह कानुको जिततर्फ सुधीर पटेलको टोल–टोलमा अभियान

90

वीरगञ्ज, १८ माघ।

पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार शुशिल साह कानुको चुनावी अभियानलाई स्थानीय युवाहरूको सशक्त साथ मिल्दै गएको छ। विशेषगरी युवाको ढुकढुकी का रूपमा परिचित युवा नेता सुधीर पटेलको सक्रियताले अभियानलाई थप ऊर्जा प्रदान गरेको छ।

वीरगञ्ज महानगरपालिका वडा नं. १ स्थित छपक्कै टोलमा  हिजो सम्पन्न घरदैलो कार्यक्रममा उम्मेदवार कानुले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै ‘युवाको नारा, परिवर्तनको आधार’ भन्ने सन्देश प्रवाह गरे। कार्यक्रममा सहभागी युवाहरूले ‘हर–हर घण्टी’को नारा लगाउँदै घण्टी बजाएर वातावरणलाई उत्साहपूर्ण बनाएका थिए।

घरदैलोका क्रममा उम्मेदवार कानुले सुशासन, रोजगारी, शिक्षा र स्वास्थ्यलाई आफ्नो प्रमुख प्राथमिकताका रूपमा प्रस्तुत गर्दै संसदमा नयाँ सोच र व्यवहारिक अभ्यास आवश्यक रहेको बताए। स्थानीय युवाहरूले पनि पुराना राजनीतिक प्रवृत्तिभन्दा फरक, जवाफदेही र परिणाममुखी नेतृत्वको अपेक्षा व्यक्त गरेका छन्।

यस अभियानलाई सफल बनाउन सुधीर पटेल दिनरात नभनी जनतामाझ सक्रिय देखिएका छन्। जनताको हरेक सुख–दुःखमा आवाज उठाउँदै आएका पटेलले उम्मेदवार शुशिल साह कानुलाई जिताउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धतासहित संगठन विस्तार, घरदैलो र जनसम्पर्क अभियानमा अग्रणी भूमिका निर्वाह गरिरहेका छन्।

उनको सक्रियतासँगै निर्वाचन क्षेत्र नं. २ अन्तर्गत ड्राइपोर्ट क्षेत्र, बहुदरमाई नगरपालिका, पर्सागढी नगरपालिका तथा बढेरवा लागत क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै गएको स्थानीयको भनाइ छ। ती क्षेत्रहरूमा युवाहरूको उल्लेखनीय सहभागिता र संगठनात्मक पकड मजबुत बन्दै गएको देखिन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पर्सा–२ मा युवाकेन्द्रित अभियानलाई तीव्रता दिँदै प्रत्यक्ष संवाद र जमीनी पहुँचलाई प्राथमिकतामा राखेको जनाएको छ। उम्मेदवार शुशिल साह कानुको निरन्तर घरदैलो तथा जनसम्पर्कसँगै सुधीर पटेलजस्ता युवानेताहरूको सक्रियताले चुनावी माहोल निर्णायक बन्दै गएको विश्लेषण हुन थालेको छ।

Leave A Reply

Your email address will not be published.