योजना बेचबिखनको केन्द्र बने मन्त्री जयसवाल? सार्वजनिक आरोपपछि चासो
वीरगञ्ज, साउन २०
पर्साको पटेर्वासुगौली गाउँपालिकामा अवस्थित ऐतिहासिक दुधेश्वरनाथ भाठा मन्दिरको निर्माण कार्यमा समेत प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री प्रमोद जयसवालमाथि कमिशन लिएको आरोप सार्वजनिक भएको छ।
भाठा मेला समितिका अध्यक्ष गेनालाल पटेलले आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्री जयसवालले ठेकेदारमार्फत पाँच लाख रुपैयाँ कमिशन मागेको खुलासा गरेका हुन्। अध्यक्ष पटेलका अनुसार मन्त्रीको आग्रहमा अन्ततः तीन लाख रुपैयाँ चेकमार्फत बुझाइएको थियो, त्यसपछि मात्र निर्माण कार्य अगाडि बढाइएको थियो।
“काम ल्याउन मेरो पाँच लाख खर्च भएको छ, पाँच लाख दिनुस् अनि मात्र काम हुन्छ भनेका थिए। हामीले पैसा नदिएपछि ठेकेदार राजेश पटेलले मन्त्रीलाई फोन गरे। मन्त्रीले ‘पाँच लाख होइन, तीन लाख दिनुस्’ भनेपछि हामीले चेक दिएर काम सुरु गर्यौं,” — अध्यक्ष पटेल।
उक्त घटनाका २० जना भन्दा बढी समितिका सदस्यहरू साक्षी रहेको दाबी गर्दै अध्यक्ष पटेलले काम रोकिएको कारण पनि यही कमिशन विवाद रहेको बताए।
अघिल्लो विवादहरू पनि सतहमा
यस अघि पनि मन्त्री जयसवालमाथि कमिशन लिएर योजना वितरण गर्ने गरेको आरोप सार्वजनिक हुँदै आएको छ। नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवले समेत जयसवालको राजीनामा माग्दै सार्वजनिक रूपमा आलोचना गरेका थिए।
मन्त्रीमाथि ३–५ प्रतिशत कमिशन लिएर योजना पारित गराउने, बजेट बिना योजनाहरू रोक्ने जस्ता आरोपहरू पनि लाग्दै आएका छन्, जसले उनको भूमिका र नैतिकतामाथि गम्भीर प्रश्न उठाएको छ।
पारदर्शिता र जवाफदेहिताको माग
सरकारको विकास कार्यक्रम पारदर्शी, निष्पक्ष र प्रभावकारी हुनुपर्नेमा जोड दिँदै नागरिक समाज, स्थानीयवासी तथा सरोकारवाला पक्षले यस्ता आरोपको निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही गर्नुपर्ने माग गरेका छन्।