रोयल एकेडेमीमा ‘रोयल इङ्ग्लिस कम्युनिटी’ शुभारम्भ, विद्यार्थीमा नयाँ ऊर्जा

81

वीरगञ्ज – विद्यार्थीहरूको अंग्रेजी भाषिक क्षमता अभिवृद्धि गर्दै आत्मविश्वासी तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ रोयल एकेडेमीले आज ‘रोयल इङ्ग्लिस कम्युनिटी (Royal English Community – REC)’ को औपचारिक उद्घाटन गरेको छ।

उद्घाटन समारोहका प्रमुख अतिथिका रूपमा वीरगञ्ज महानगरपालिकाको शिक्षा प्रशासन विभागका शिक्षा अधिकृत आनन्द लामिछाने उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा विशेष अतिथिका रूपमा NELTA Birgunj का अध्यक्ष तथा प्रख्यात अंग्रेजी भाषा शिक्षाविद् सन्तोष कर्णको उपस्थिति रहेको थियो।

यसैगरी विद्यालयकी निर्देशिका सबनम श्रेष्ठ, प्रधानाध्यापक विजया ओझैया तथा सह–प्रधानाध्यापक सुमन श्रेष्ठ लगायत शिक्षक–शिक्षिका र विद्यार्थीहरूको गरिमामय सहभागिता रहेको थियो।

विद्यालयका अनुसार, रोयल इङ्ग्लिस कम्युनिटीको स्थापना विद्यार्थीहरूमा अंग्रेजी भाषाको प्रयोगात्मक दक्षता विकास गर्ने उद्देश्यले गरिएको हो। यस कम्युनिटीमार्फत वादविवाद, सार्वजनिक भाषण, सृजनात्मक लेखन, प्रस्तुतीकरण तथा अन्तरक्रियात्मक गतिविधिहरू सञ्चालन गरिनेछ।

प्रधानाध्यापक विजया ओझैयाले कम्युनिटीमार्फत विद्यार्थीहरूको बोल्ने, लेख्ने, नेतृत्व तथा समालोचनात्मक सोच क्षमतामा निखार ल्याउने लक्ष्य राखिएको जानकारी दिनुभयो।

निर्देशिका सबनम श्रेष्ठले अंग्रेजी भाषालाई केवल विषयको रूपमा नभई अवसर, अभिव्यक्ति र नेतृत्वको माध्यमका रूपमा विकास गर्ने दृष्टिकोण रहेको बताउनुभयो। दीर्घकालीन रूपमा आत्मविश्वासी, स्पष्ट वक्ता, सक्षम लेखक तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्ने लक्ष्य कम्युनिटीले लिएको उहाँको भनाइ थियो।

सह–प्रधानाध्यापक सुमन श्रेष्ठले आगामी दिनहरूमा अंग्रेजी मात्र नभई विज्ञान, प्रविधि, कला तथा नेतृत्व जस्ता विभिन्न विषयगत कम्युनिटीहरू स्थापना गर्ने योजना रहेको जानकारी दिनुभयो। यस्ता कम्युनिटीहरूले विद्यार्थीलाई आफ्ना रुचि पहिचान गर्न, सीप अन्वेषण गर्न तथा कक्षाकोठाभन्दा बाहिरको सिकाइ अनुभव गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

यस पहलमार्फत रोयल एकेडेमीले शैक्षिक उत्कृष्टतासँगै सर्वाङ्गीण विकासमा आधारित शिक्षा प्रणालीप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.