वीरगन्ज समाज सेवाद्वारा लगातार १९ औं महिनामा निशुल्क साप्ताहिक भोजन कार्यक्रम सम्पन्न

45

 

१ कार्तिक , वीरगञ्ज वीरगन्ज

मानवता र सेवा भावनाको प्रतीकका रूपमा वीरगन्ज समाज सेवाले नारायणी अस्पतालमा आयोजना गर्दै आएको निशुल्क साप्ताहिक भोजन कार्यक्रम शनिबार पनि निरन्तर १९ औं महिनासम्म सभ्य र भव्य रूपमा सम्पन्न गरेको छ।

लगातार डेढ वर्षदेखि प्रत्येक शनिबार बिहान ९ः३० बजेबाट सञ्चालन हुँदै आएको यस सेवामा अस्पतालमा उपचाररत विपन्न बिरामी, कुरुवा, असहाय व्यक्तिहरु, रिक्साचालक, ई–रिक्साचालक तथा यात्रुहरूलाई घरमा बनाएको जस्तो सफा, सुद्ध र पोषिलो भोजन खुवाइँदै आएको छ।

सो अवसरमा संस्थाका अध्यक्ष अशोक गुप्ताले “सेवा नै धर्म हो” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै करिब ४ सय ५० देखि ५ सय जनाले नियमित रूपमा यस सेवाबाट लाभ लिँदै आएको जानकारी दिए। उनले दिन–दुःखी असहायहरूको अनुहारमा देखिने हाँसो र सन्तोष नै आफ्नो सबैभन्दा ठूलो प्रेरणा भएको बताए।

त्यसैगरी सेवक लालबाबु सिंहले मानवताको सर्वोच्च धर्म सेवामार्फत नै पूरा हुने उल्लेख गर्दै समाजका सम्पूर्ण शुभेच्छुक र सहयोगीहरूलाई अभियानमा हातेमालो गर्न आह्वान गरे।

आजको कार्यक्रमका क्रममा समाजका सेवादारहरूले वृद्ध, महिला र बालबालिकालाई भात, दाल, आलु–परवलको तरकारी र हरियो खुर्सानीको अचार स्वादपूर्वक खुवाएर सेवा प्रदान गरेका थिए।

भोजन सेवामा समाजका सदस्य लालबाबु सिंह, निसान्त लाठ, दिपक कण्ठ, कल्पना किङरिङ र बिक्की गुप्ता लगायत सक्रिय रूपमा संलग्न रहेका थिए।

Leave A Reply

Your email address will not be published.