वीरगन्ज, असार १२ – वीरगन्ज महानगरपालिका वडा नं २७ स्थित सारदा माध्यमिक विद्यालयको आयोजनामा बुधबार प्राविधिक धार अन्तर्गत बाली विज्ञान र पशु विज्ञान विषय सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा शिक्षा क्षेत्रका अगुवाहरू, स्थानीय जनप्रतिनिधि, शिक्षक–शिक्षिका, समाजसेवी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल शिक्षक महासंघ पर्सा जिल्लाका अध्यक्ष तीर्थराज यादवले प्राविधिक धारमार्फत व्यवहारिक सीप प्रदान गर्दै विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले यो कार्यक्रम महत्वपूर्ण रहेको बताए। साथै उनले विद्यालयमा नयाँ विषय सञ्चालन गर्न स्थानीय जनप्रतिनिधिहरूको आर्थिक र सामाजिक उत्तरदायित्व महत्वपूर्ण हुने उल्लेख गर्दै, घर–घर पुगेर विद्यार्थी भर्ना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए। साथै उनले कुनै पनि संस्था निरन्तर सञ्चालन गर्नका लागि विधालयको प्रधानाध्यापकको अहम भुमिका रहने र यो विषय सञ्चालन गर्न अठोट लिनुभएका विधालयका प्रधानाध्यापक अनिल वर्णवाललाई धन्यबाद दिए ।
कार्यक्रममा सहभागी वडा अध्यक्षहरूले विषयको स्वागत गर्दै विद्यालयको प्रयासमा आवश्यक सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन । वडा नं २० का वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले भने, “यस्ता व्यवहारिक विषयले बालबालिकालाई रोजगारीमुखी बनाउने छन्। हामी वडाबाट जुनसुकै सहयोग आवश्यक पर्छ, त्यसका लागि तयार छौं।” साथै वडा नं २६ का वडा अध्यक्ष शम्भु मिश्राले विद्यालयको अग्रसरतालाई सराहना गर्दै भने, “हाम्रो वडामा यस्तो धार सञ्चालन हुनु गर्वको कुरा हो। भविष्यमा थप कार्यक्रमको पहलका लागि म व्यक्तिगत र संस्थागत रुपमा साथ दिन प्रतिबद्ध छु।”
यसैगरी वडा नं २७ का वडा अध्यक्ष हृदयनारायण प्रसाद कुर्मी ले भने, “प्राविधिक शिक्षा अहिलेको आवश्यकता हो। हामीले विद्यार्थीलाई केवल किताबी ज्ञान होइन, सीपसम्पन्न बनाउनुपर्ने समय आएको छ। यस दिशामा सारदा विद्यालयको पहल सराहनीय छ।”
कार्यक्रमका विशिष्ट अतिथिमा नेपाल शिक्षक महासंघ पर्साका सचिव विनोद गिरी, वीरगन्ज महानगर अध्यक्ष प्रदीप जैसवाल, सचिव सुमु प्रसाद सोनार, समाजसेवी सन्तोष सिंह, ओमप्रकाश द्विवेदी, विद्यालयका रिता देवी कुर्मी, शिवनारायण मिश्र, गजुल अन्सारी लगायत शिक्षक, अभिभावक, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
विद्यालयका प्रधानाध्यापक अनिल बरणवलले नयाँ धार सञ्चालन गर्न विद्यालय तयार रहेको बताउँदै सबै सरोकारवालाको साथ र सहकार्य अपेक्षा गरेका थिए।
कार्यक्रमले व्यवहारिक तथा व्यावसायिक शिक्षाको महत्वलाई पुनः उजागर गर्दै विद्यालय र समुदायबीच सहकार्यको नयाँ ढोका खोलेको छ।