आईसीपी रक्सौलमा सुरक्षा समन्वय बैठक: सीमा सुरक्षा र निगरानीलाई प्राथमिकता
वीरगंज, 30 असोज – नेपाल–भारत सीमास्थित एकीकृत जाँच चौकी (आईसीपी) रक्सौलमा दुई देशका जिल्लास्तरीय सुरक्षा तथा प्रशासनिक अधिकारीहरूको संयुक्त समन्वय समिति बैठक सम्पन्न भएको छ। बैठकले नागरिकको आवतजावतमा कडाइपूर्वक जाँच गर्न र सीमा सुरक्षा बलहरूलाई तस्करी तथा अवैध गतिविधि नियन्त्रणमा सतर्क रहन विशेष निर्देशन दिएको छ।
बैठकको नेतृत्व सीमा सुरक्षा बल (एसएसबी)का महानिरीक्षक (आईजी) नशीथ कुमार उज्जवलले गरेका थिए। उनी दुई दिने निरीक्षण भ्रमणका क्रममा ४७औँ वाहिनी मुख्यालय र पटनास्थित सीमा चौकीको निरीक्षण गरी ‘गार्ड अफ अनर’ ग्रहण गरेका थिए। निरीक्षण भ्रमणको क्रममा उनले सीमामा खटिएका जवानहरूलाई जिम्मेवारी र सतर्कताको महत्व सम्झाउँदै विशेष निर्देशन दिएका थिए।
नेपालतर्फ बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, सशस्त्र प्रहरी बल (एपीएफ)का डीआईजी अञ्जनीकुमार पोखरेल, नेपाल प्रहरीका वरिष्ठ अधिकारीहरू तथा अन्य प्रशासनिक अधिकारीहरू सहभागी थिए। भारततर्फ पूर्वी चम्पारणका प्रमुख जिल्ला अधिकारी सौरभ जोरवाल, एसएसबी क्षेत्रीय मुख्यालय बेतियाका उपमहानिरीक्षक एस. सुब्रमण्यम, ४७औँ वाहिनी एसएसबी रक्सौलका कमाण्डेन्ट संजय पाण्डेय, मोतिहारीका प्रहरी अधीक्षक स्वर्ण प्रभात लगायत अन्य उच्च अधिकारीहरूले सहभागिता जनाएका थिए।
बैठकको मुख्य एजेन्डामा नागरिकको आवतजावतमा कडाइपूर्वक जाँच, सीमा सुरक्षाको बलियो व्यवस्था, तस्करी नियन्त्रण, अवैध प्रवासनको रोकथाम र आगामी बिहार विधान सभा चुनावलाई ध्यानमा राखेर सुरक्षा रणनीति निर्माण रहेका थिए। सहभागी अधिकारीहरूले सीमा सुरक्षा बलहरूको समन्वय र दैनिकी सुधारका उपायहरूमा विस्तृत छलफल गरेका थिए।
बैठकका क्रममा दुबै पक्षले सीमा क्षेत्रमा शान्ति, सुरक्षा र सहज आवतजावत कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। यस समन्वय बैठकले नेपाल–भारत सीमामा सुरक्षा, प्रशासन र कानुनी निगरानी बलियो बनाउन महत्वपूर्ण कदम रहेको बताइएको छ।