४० दिन सेवा दिएका निर्वाचन प्रहरीलाई धन्यवादसहित बिदाइ
काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षामा खटिएका अस्थायी निर्वाचन प्रहरीहरूको आज औपचारिक रूपमा बिदाइ गरिँदैछ।
४० कार्यदिनका लागि भर्ना गरिएको उनीहरूको सेवा अवधि आजबाट सकिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अवि नारायण काफ्ले ले जानकारी दिए। उनका अनुसार निर्वाचनमा योगदान पुर्याएका प्रहरीलाई धन्यवाद ज्ञापन गर्दै प्रमाणपत्र प्रदान गरिनेछ। साथै देशलाई आवश्यक परेको समयमा पुनः सहयोग गर्ने प्रतिबद्धतासहित सम्मानपूर्वक बिदाइ गरिने कार्यक्रम तय गरिएको छ।
प्रवक्ता काफ्लेले निर्वाचन प्रहरीको प्रभावकारी कार्यसम्पादनकै कारण निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सम्भव भएको बताए। यस वर्ष नेपाल प्रहरी मातहत रहने गरी १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बल नेपाल मातहत खटिने गरी १५ हजार १ सय १० गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो।
उता सशस्त्र प्रहरी मातहत खटिएका अस्थायी प्रहरीहरूको पनि आजै बिदाइ कार्यक्रम राखिएको विष्णु प्रसाद भट्ट ले जानकारी दिए।
निर्वाचन अवधिभर खटिएका प्रहरीहरूले पाउनुपर्ने पारिश्रमिक तथा सेवासुविधाको रकम भने सम्बन्धित खातामा पठाइसकिएको जनाइएको छ। उनीहरूलाई ३४ हजार रुपैयाँ तलब, जिल्ला दररेट अनुसारको रासन भत्ता, यातायात भत्ता, खाजा खर्च तथा पोसाक भत्ता अन्तर्गत एकसरो कपडाको खर्च उपलब्ध गराइएको थियो।