६ केजी गाँजासहित चार भारतीय नागरिक वीरगञ्जमा पक्राउ
८ वैशाख, वीरगञ्ज । पर्सा प्रहरीले गाँजा जस्तो देखिने लागूऔषधसहित चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेहरू भारतको बिहार राज्य अन्तर्गत पश्चिम चम्पारण जिल्लाका बासिन्दा हुन्। उनीहरूमा ३५ वर्षीय सफि अहम्द, ३३ वर्षीय विनय ठाकुर, ३० वर्षीय मुकिम मियाँ र २८ वर्षीय महम्द एकवाल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतद्वारा जारी विज्ञप्तिअनुसार पक्राउ परेकाहरूको साथबाट प्लास्टिक बाहेक ६ केजी १८ ग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद गरिएको हो।
प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट क्षेत्रमा नियमित चेकजाँचका क्रममा उनीहरू शंकास्पद अवस्थामा फेला परेपछि नियन्त्रणमा लिइएको थियो। जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले भारत–नेपाल सीमा क्षेत्रमा आवतजावत गर्ने पैदल यात्री तथा सवारी साधन जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
वीरगञ्जबाट रक्सौलतर्फ पैदल जाँदै गरेका उनीहरूको कानुनी प्रक्रिया अनुसार खानतलासी गर्दा पेट र छातीमा रातो प्लास्टिकले बेरि खैरो डोरीले बाँधेर लुकाइछिपाइ राखिएको अवस्थामा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
हाल पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखी लागूऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।