पर्सामा “लागु औषध सेवनकर्ता खोजी तथा सुधार अभियान २०८३” अन्तर्गत अन्तरक्रिया सम्पन्न

45

वीरगञ्ज — मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम धनुषाद्वारा सञ्चालित “लागु औषध सेवनकर्ता खोजी एवं सुधार अभियान २०८३” अन्तर्गत पहिलो चरणको तयारीस्वरूप पर्सा जिल्लामा सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साको सभा हलमा आयोजित उक्त कार्यक्रम प्रमुख जिल्ला अधिकारी भोला दहालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय तहका प्रमुख तथा अध्यक्षहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू तथा अन्य सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अन्तरक्रिया कार्यक्रममा लागु औषध दुव्र्यसन नियन्त्रण, सेवनकर्ताको पहिचान, पुनर्स्थापना तथा सुधारका लागि आवश्यक रणनीतिबारे गहन छलफल गरिएको थियो। सहभागीहरूले अभियानलाई प्रभावकारी बनाउन स्थानीय तहदेखि समुदायस्तरसम्म समन्वय र सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी दहालले लागु औषध नियन्त्रण केवल सुरक्षा निकायको मात्र दायित्व नभई सम्पूर्ण समाजको साझा जिम्मेवारी भएको उल्लेख गरे। उनले सबै निकायलाई अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै सचेतना, रोकथाम र सुधारका कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाइने जानकारी दिए।

कार्यक्रममार्फत पर्सा जिल्लामा लागु औषध विरुद्धको अभियानलाई थप सुदृढ, व्यवस्थित र परिणाममुखी बनाउने विश्वास लिइएको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.