उत्कृष्ट कार्यसम्पादनका आधारमा प्रहरी जवान कुशवाहा ‘पुलिस अफ द मन्थ’ घोषित

65

वीरगञ्ज, १२ जेठ । आनन्द पटेल 

जिल्ला प्रहरी कार्यालय पर्साले २०८२ साल वैशाख महिनाको “पुलिस अफ द मन्थ” प्रहरी जवान रमेश प्रसाद कुशवाहालाई घोषणा गरेको छ। प्रहरी चौकी हाँलिटे महोत्तरी दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान शाखा (CAP) मा कार्यरत कुशवाहालाई उत्कृष्ट कार्यसम्पादनका आधारमा सम्मान गरिएको हो।

कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार प्रहरी जवान कुशवाहाले विभागीय नीति निर्देशनको पूर्ण पालना गर्दै अनुशासित, इमान्दार, लगनशील तथा कर्तव्यनिष्ठ भएर जिम्मेवारी निर्वाह गरेका थिए। उनले दैनिक, पाक्षिक तथा मासिक जाहेरी र प्रतिवेदन समयमै अद्यावधिक गरी सम्बन्धित निकायमा पठाउने कार्य प्रभावकारी रूपमा सम्पन्न गरेका थिए।

त्यसैगरी मासिक कार्यसम्पादन सम्झौता अन्तर्गतका सूचकहरू नियमित अद्यावधिक गर्नेदेखि वार्षिक कार्यसम्पादन मूल्यांकनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको कार्यालयले जनाएको छ। मधेश प्रदेश प्रहरी कार्यालयको मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय पर्सा उत्कृष्ट घोषित हुन सफल हुनुमा कुशवाहाको योगदान उल्लेखनीय रहेको उल्लेख गरिएको छ।

उत्कृष्ट कार्यका कारण अन्य प्रहरी कर्मचारीमा समेत सकारात्मक प्रभाव परेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साले उनलाई वैशाख महिनाको “पुलिस अफ द मन्थ” घोषणा गर्दै सम्मान गरेको हो।

कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकले कुशवाहालाई बधाई दिँदै आगामी दिनमा अझ जिम्मेवार र प्रेरणादायी ढंगले कार्य गर्न शुभकामना व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.