राष्ट्रियसभामा मधेसको खानेपानी संकटदेखि महँगी नियन्त्रणसम्मका विषय उठे

62

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले मधेस प्रदेशमा बढ्दो सुक्खासँगै गहिरिँदै गएको खानेपानी समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । साथै उद्योग, विद्युत्, महँगी तथा जातीय छुवाछूतका विषयसमेत बैठकमा उठाइएको छ ।

बैठकमा सांसद उर्मिला अर्यालले मधेस प्रदेशमा पछिल्लो समय खानेपानीको समस्या गम्भीर बन्दै गएको उल्लेख गर्दै समयमै समस्या समाधानका लागि सरकारले प्रभावकारी पहल गर्नुपर्ने बताइन् ।

त्यस्तै, सांसद गोमादेवी तिमल्सेनाले अर्थमन्त्री डा स्वर्णिम वाग्ले ले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा उद्योग सञ्चालन तथा प्रवर्द्धनका लागि पर्याप्त बजेट विनियोजन नभएको टिप्पणी गरिन् ।

सांसद दुर्गा गुरुङले कर्णाली प्रदेशमा भइरहेको विद्युत् समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै नागरिकले सास्ती भोग्नुपरेको बताइन् । सांसद नरबहादुर विष्टले संसद्मा सांसदहरूले उठाएका माग तथा जनचासोका विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने धारणा राखे ।

यस्तै, सांसद भुवनबहादुर सुनुवारले देशमा अझै जातीय छुवाछूतको समस्या अन्त्य हुन नसकेको उल्लेख गर्दै माइतीघरमा आन्दोलनरत दीपा नेपालीलगायत युवाहरूको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरे ।

‘दलित समुदायलाई उपत्यकामा कोठा भाडामा पाउन कठिनाइ भइरहेको छ । यही समस्याविरुद्ध दीपा नेपालीलगायत युवाहरू माइतीघरमा आन्दोलनरत हुनुहुन्छ । छुवाछूत अन्त्यका लागि उठाइएका माग सम्बोधन हुनुपर्छ,’ उनले भने ।

सांसद युवराज शर्माले बजारमा बढ्दो महँगीका कारण आम नागरिक प्रभावित भएको उल्लेख गर्दै मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए ।

बैठकमा सांसद नारायणदत्त मिश्र र उदयबहादुर बोहोराले समेत समसामयिक विषयमा आफ्ना धारणा राखेका थिए ।

Leave A Reply

Your email address will not be published.