दीपक पटेल : विद्यार्थीको सफलता नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि, बिपिएस +२ कलेजद्वारा २५ विद्यार्थी सम्मानित
वीरगञ्ज, असार १४
वीरगञ्ज महानगरपालिका–९, रानिघाटस्थित बिपिएस +२ कलेजले राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा A+ तथा A ग्रेड प्राप्त गरेका २५ जना विद्यार्थीलाई सम्मान, बधाई तथा शुभकामना प्रदान गरेको छ।
कलेज परिसरमा आयोजित कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई खादा, प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूको मेहनत, अनुशासन र लगनशीलताले प्राप्त गरेको सफलताको प्रशंसा गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो।
कार्यक्रमका अध्यक्ष तथा कलेजका एकेडेमिक डाइरेक्टर दीपक पटेलले विद्यार्थीहरूको सफलता कलेज परिवारका लागि गौरवको विषय भएको बताउँदै गुणस्तरीय शिक्षा, अनुशासित वातावरण तथा दक्ष शिक्षकमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा कलेज निरन्तर क्रियाशील रहेको बताए।
उनले भने, “विद्यार्थीहरूको सफलता नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो। आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, अनुशासित शैक्षिक वातावरण र आधुनिक शिक्षण पद्धतिमार्फत अझ उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यका साथ हामी अघि बढिरहेका छौं। सबै विद्यार्थीलाई जीवनका हरेक क्षेत्रमा सफल बन्न शुभकामना व्यक्त गर्दछु।”
कार्यक्रममा कलेजका डाइरेक्टर सन्दीप कुशवाहाले विद्यार्थीहरूको उपलब्धि उनीहरूको व्यक्तिगत सफलता मात्र नभई अभिभावक, शिक्षक र कलेजको सामूहिक प्रयासको परिणाम भएको बताए। उनले आगामी दिनमा पनि विद्यार्थीमैत्री तथा प्रतिस्पर्धात्मक शिक्षामा कलेजले विशेष जोड दिने उल्लेख गरे।
प्रिन्सिपल प्रभात मेहताले विद्यार्थीहरूलाई बधाई दिँदै सफलता प्राप्त गरेपछि पनि निरन्तर अध्ययन, अनुशासन र मेहनतलाई कायम राख्न आग्रह गरे। उनले उच्च शिक्षाको यात्रामा आत्मविश्वास र सकारात्मक सोचका साथ अघि बढ्न विद्यार्थीहरूलाई प्रेरित गरे।
कार्यक्रममा शिक्षक दिपेन्द्र कानुले विद्यार्थीहरूको मेहनत र लगनशीलताको प्रशंसा गर्दै लक्ष्यप्रति प्रतिबद्ध रहेमा जुनसुकै क्षेत्रमा पनि सफलता हासिल गर्न सकिने बताए। शिक्षक रेश्मा पटेलले विद्यार्थीहरूको उत्कृष्ट नतिजाले आगामी पुस्तालाई समेत प्रेरणा दिने विश्वास व्यक्त गरिन्।
यसैगरी सदीक्षा सुवेदी, अंगद यादव, आकाश पटेल, दयानन्द बैठा तथा निर्मल ताम्राकारलगायतले विद्यार्थीहरूको उपलब्धिको प्रशंसा गर्दै उच्च शिक्षामा समेत यस्तै उत्कृष्टता कायम राख्न शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा सम्मानित विद्यार्थीहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै एक विद्यार्थीले कलेज प्रशासन, शिक्षक तथा अभिभावकप्रति आभार व्यक्त गरे। उनले कलेजले प्रदान गरेको शैक्षिक वातावरण, मार्गदर्शन र सहयोगले उत्कृष्ट नतिजा हासिल गर्न महत्वपूर्ण भूमिका खेलेको बताए।
कार्यक्रममा शिक्षक, सञ्चारकर्मी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको समापन शुभकामना आदानप्रदान तथा सामूहिक तस्बिरसहित गरिएको थियो।
यसैबीच कलेजले कक्षा ११ व्यवस्थापन (Management) संकायमा नयाँ भर्ना प्रक्रिया जारी रहेको जानकारी दिँदै इच्छुक विद्यार्थीलाई समयमै भर्ना प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।