गहवामाईको भव्य रथयात्राका अवसरमा वीरगञ्जका सबै विद्यालय बिहीबार बन्द

47

वीरगञ्ज, गहवामाईको भव्य रथयात्रालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा बिहीबार एक दिनका लागि पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ।

महानगरपालिकाको शिक्षा महाशाखाले बुधबार जारी गरेको सूचनाअनुसार रथयात्राका कारण महानगर क्षेत्रका सबै विद्यालयमा नियमित कक्षा सञ्चालन हुने छैन। महानगरपालिकाले सम्बन्धित सबै विद्यालयलाई सोहीअनुसार आवश्यक व्यवस्थापन गर्न आग्रह गरेको छ।

महानगरपालिकाका अनुसार रथयात्राको क्रममा बढ्ने भीडभाड, विद्यार्थी, शिक्षक तथा अभिभावकको सहज आवागमन तथा सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको हो।

गहवामाईको रथयात्रा वीरगञ्जको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वमध्ये एक मानिन्छ। हरेक वर्ष हजारौँ श्रद्धालुको सहभागिता रहने यस पर्वका कारण नगरका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएकाले विद्यालयहरूमा एक दिनका लागि बिदा दिइएको महानगरपालिकाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.