रास्वपा पर्सागढीद्वारा खुला रक्तदान, ३ महिला सहित ६० जनाले गरे रक्तदान

65

पर्सा, ९ साउन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सागढी नगर कमिटी, पर्साको आयोजनामा पर्सागढी नगरपालिका–३ बढनियारमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। प्रतिनिधिसभा सदस्य सुशील साह कानुको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ३ महिला सहित ६० जनाले रक्तदान गरेका हुन्।

रक्तदान कार्यक्रममा सांसद सुशील साह कानु स्वयंले पनि रक्तदान गरेका थिए। उनीसँगै रास्वपा महा अधिवेशन प्रतिनिधि सुधिर पटेल, मुस्कान दाहाल, होमप्रसाद न्यौपाने, सन्तोष खवास, पोषण पटेल कुर्मी, हर्कबहादुर अर्याल, आशिक अधिकारी, रैतु आलम अन्सारी, कमलेश रायभर, मनोज रायभर, करण आचार्यलगायतले रक्तदान गरेका थिए।

कार्यक्रममा रास्वपा महाअधिवेशन प्रतिनिधि सुधिर पटेल, मधेश प्रदेश यातायात विभाग प्रमुख राम आर्य, क्षेत्र नं. २ का सचिव किशन प्रसाद, वीरगञ्ज नगर सभापति दीपराज पटेल, स्थानीय बुद्धिजीवी तथा रास्वपा पर्सागढी नगर कमिटीका पदाधिकारी एवं कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

आयोजकका अनुसार कार्यक्रममा संकलित रगतले आकस्मिक उपचार आवश्यक पर्ने बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रम सफल बनाउन नेपाल रेडक्रस सोसाइटी रेशम उपशाखाका सह–कोषाध्यक्ष अभिलाष गुप्ता तथा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभ पाण्डे नेतृत्वको टोलीले प्राविधिक तथा व्यवस्थापकीय सहयोग गरेको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.