वीरगञ्जका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी, आज साँझ ५ बजेदेखि भोलि बिहान ६ बजेसम्म लागू

65

वीरगञ्ज, साउन १४ — जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार साउन १४ गते साँझ ५:०० बजेदेखि साउन १५ गते बिहान ६:०० बजेसम्म निषेधाज्ञा लागू रहने पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिएका छन्।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम जारी गरिएको आदेश अनुसार तोकिएको चार किल्लाभित्र पाँच जना भन्दा बढी व्यक्ति भेला हुन, सभा–समारोह आयोजना गर्न, जुलुस निकाल्न तथा कुनै पनि प्रकारका प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

प्रशासनले जारी गरेको आदेश अनुसार निषेधाज्ञाको क्षेत्र पूर्वतर्फ प्रतिमा चोक तथा बसपार्क बाइपास रोड, पश्चिमतर्फ तिलावे पुल, उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ शंकराचार्य गेटसम्म रहेको छ।

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा आदेशको उल्लङ्घन गर्ने जो–कोहीलाई नियन्त्रणमा लिई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।

सुरक्षा अवस्था सामान्य र शान्तिपूर्ण बनाउन तथा सम्भावित अप्रिय घटना रोक्न निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।

Leave A Reply

Your email address will not be published.