भोजपुरी भाषालाई अपमानित गरिएको भन्दै पर्साका भोजपुरी संघ–संस्थाको आपत्ति, प्रशासनसँग रोक लगाउन माग

44

वीरगञ्ज, कार्तिक ९ आनन्द पटेल ।

भोजपुरी भाषाको मानमर्दन हुने गरी सांस्कृतिक कार्यक्रमहरूमा अश्लील तथा अभद्र गतिविधि प्रस्तुत गरिएको भन्दै पर्साका विभिन्न भोजपुरी संघ–संस्थाले आपत्ति जनाएका छन्। भोजपुरी भाषाको मौलिकता, साहित्य, कला र संस्कृतिको संरक्षण गर्न माग गर्दै ती संस्थाहरूले जिल्ला प्रशासन कार्यालय पर्सा सहित सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

जिल्ला प्रशासन कार्यालय पर्सालाई सम्बोधन गरी बुझाइएको ज्ञापनपत्रमा भोजपुरी भाषा विश्वकै मानचित्रमा समृद्ध साहित्य र उत्कृष्ट गीत–संगीतको परम्परा बोकेको भाषा भएको उल्लेख गरिएको छ। भोजपुरी भाषामा निर्गुण, सोहर, भजन, कजरी, पूर्वी, चैतार, बिरहा, विवाह गीत तथा छठ गीतजस्ता मौलिक सांस्कृतिक विधा रहेको जनाउँदै पछिल्लो समय केही सांस्कृतिक कार्यक्रममा भोजपुरी भाषालाई अपमानित हुने गरी प्रस्तुत गर्ने गरिएको प्रति चिन्ता व्यक्त गरिएको छ।

ज्ञापनपत्रमा वीरगञ्जमा विगतदेखि आयोजना हुँदै आएका विभिन्न सांस्कृतिक कार्यक्रममा भोजपुरी भाषाको अश्लील गतिविधिसँग जोडिएको प्रस्तुतिले भाषा र संस्कृतिको गरिमामा आँच पुर्‍याएको उल्लेख गरिएको छ। भोजपुरी जस्तो समृद्ध भाषा तथा लोककलालाई अश्लीलताको माध्यमबाट प्रस्तुत गरिनु दुःखद भएको भन्दै यस्ता गतिविधि नियन्त्रण गर्न स्थानीय प्रशासनसँग माग गरिएको छ।

भोजपुरी भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै ज्ञापनपत्र बुझाउने संस्थाहरूले भोजपुरी भाषाको मौलिकता झल्किने साहित्यिक तथा सांस्कृतिक कार्यक्रमलाई प्रोत्साहन गर्न आग्रह गरेका छन्। साथै, आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन आवश्यक कदम चाल्न सम्बन्धित निकायसँग माग गरिएको छ।

ज्ञापनपत्रको बोधार्थ जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगञ्ज महानगरपालिकाको कार्यालय लगायत स्थानीय तह तथा विभिन्न गैरसरकारी संघ–संस्थालाई दिइएको छ।

ज्ञापनपत्रमा नेपाल भोजपुरी समाज, पर्सा, भोजपुरी प्रतिष्ठान वीरगञ्ज, भोजपुरीया उत्थान, बृहस्पति काउण्डेशन नेपाल, पर्सा, वीरगञ्ज कलाकार समाज, पर्सा तथा मैथिली साहित्य महोत्सव आयोजक समितिको नाम उल्लेख छ।

भोजपुरी भाषाको मौलिकता, सांस्कृतिक पहिचान र सामाजिक मर्यादा जोगाउन सम्बन्धित निकायले आवश्यक कदम चाल्ने विश्वास ज्ञापनपत्र बुझाउने संस्थाहरूले व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.