राजेन्द्रप्रसाद कोइरालाले दिए २०० विद्यार्थीलाई सपना पछ्याउने प्रेरणा, ज्ञानदा एकेडेमीमा विशेष प्रशिक्षण

73

वीरगञ्ज आनन्द पटेल।

ज्ञानदा एकेडेमीले कक्षा ११ का विद्यार्थीहरूको आत्मविश्वास, व्यक्तित्व विकास तथा लक्ष्य प्राप्तिको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘चेज योर ड्रीम’ (Chase Your Dream) शीर्षकमा विशेष उत्प्रेरणात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

एकेडेमी परिसरमा आयोजित दुई घण्टे प्रशिक्षणमा विज्ञान, व्यवस्थापन र कानुन संकायका करिब २०० विद्यार्थीको सहभागिता रहेको थियो। विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा, क्षमता र ‘सार्वभौम शक्ति’ प्रस्फुटन गराउँदै उनीहरूलाई आफ्नो सपना पहिचान गर्न र लक्ष्य प्राप्तिका लागि प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एकेडेमीले जनाएको छ।

प्रशिक्षणको सहजीकरण ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्राचार्य राजेन्द्रप्रसाद कोइरालाले गर्नुभएको थियो। उहाँले विद्यार्थीहरूलाई आत्मपहिचान, आत्मविश्वास, सकारात्मक सोच, लक्ष्य निर्धारण र निरन्तर प्रयासको महत्त्वबारे व्यावहारिक तथा अन्तरक्रियात्मक माध्यमबाट प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रमको सुरुवात विश्वप्रसिद्ध उत्प्रेरक वक्ता निक भुइचिचको जीवनसंघर्षमा आधारित वृत्तचित्र प्रदर्शनबाट गरिएको थियो। शारीरिक चुनौतीका बाबजुद जीवनमा असाधारण सफलता हासिल गरेका भुइचिचको संघर्ष र आत्मविश्वासको कथाले विद्यार्थीहरूलाई प्रतिकूल परिस्थितिमा पनि हिम्मत नहार्न र आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहन प्रेरित गरेको थियो।

विश्वप्रसिद्ध लेखक तथा उत्प्रेरक वक्ता रोबिन शर्माको ‘सार्वभौम शक्ति’ (Sovereign Power) को अवधारणालाई आधार बनाएर सञ्चालन गरिएको प्रशिक्षणमा विद्यार्थीहरूको आन्तरिक क्षमता, आत्मअनुशासन, नेतृत्व विकास र सकारात्मक दृष्टिकोणका विषयमा विशेष जोड दिइएको थियो। सत्रका क्रममा विद्यार्थीहरूले आफ्ना सपना, आकांक्षा र भविष्यका लक्ष्यबारे खुलेर विचार व्यक्त गरेका थिए।

प्रशिक्षणका क्रममा प्राचार्य कोइरालाले सपनालाई सफलतामा बदल्न आत्मविश्वास, दृढ संकल्प र निरन्तर मेहनत आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई आफूभित्र रहेको क्षमतालाई पहिचान गर्दै चुनौतीसँग नडराई आफ्नो लक्ष्य प्राप्तिको यात्रामा अघि बढ्न प्रेरित गर्नुभयो।

शैक्षिक उपलब्धिसँगै विद्यार्थीहरूको सर्वाङ्गीण विकास, नेतृत्व क्षमता, आत्मविश्वास र नैतिक चरित्र निर्माणलाई प्राथमिकता दिँदै आएको ज्ञानदा एकेडेमीले आगामी दिनमा पनि यस्ता जीवनोपयोगी तथा उत्प्रेरणात्मक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Leave A Reply

Your email address will not be published.