राइजिङ स्टार्स एसिया कपमा नेपालको पहिलो जित, यूएई ६ विकेटले पराजित

24

६ मंसिर, काठमाडौं । कुशल भुर्तेलको ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन तथा कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतमा नेपालले राइजिङ स्टार्स एसिया कप क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

आइतबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद पुनरागमन गरेको हो । पहिलो खेलमा भारत ‘ए’ सँग लज्जास्पद हार बेहोरेको नेपालले दोस्रो खेलमा भने उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको छ ।

यूएईले दिएको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ५७ रन बनाए । उनले ५६ बलको सामना गर्दै ६ चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै मयन यादवले २७ रन जोड्दा बसिर अहमद १८ रनमा अविजित रहे । यूएईका मुहम्मद मोहसिनले २ विकेट लिए भने उदीस सुरी र अंश टन्डनले समान एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएई नेपाली बलरको कसिलो प्रदर्शनसामु टिक्न सकेन । निर्धारित इनिङ्समा यूएई ३९.५ ओभरमा १२१ रनमै अलआउट भयो । उसका लागि मोहम्मद शाहदादले ४० र हरप्रीत सिंह भाटियाले ३२ रन बनाउनु नै उल्लेखनीय प्रदर्शन रह्यो ।

नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ३ मेडन राखेर ११ रन खर्चिँदै ३ विकेट लिए । कुशल भुर्तेलले पनि ३ विकेट झारे । यस्तै नन्दन यादव, रासिद खान र ललित राजवंशीले एक–एक विकेट लिए ।

यस जितसँगै नेपालले प्रतियोगिताको अघिल्लो चरणमा पुग्ने सम्भावना कायम राखेको छ । नेपालले अब आफ्नो तेस्रो खेलमा आगामी मंगलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

Leave A Reply

Your email address will not be published.