सिमरामा कुटपिट र गालीगलौज भएको निशाको आरोप, प्रहरीसँग निष्पक्ष छानबिनको माग
बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२ निवासी निशा कुमारी गुप्ताले नैमुदिन अन्सारी र उनकी श्रीमती सबाना खातुनमाथि आफूलाई कुटपिट तथा गालीगलौज गरेको आरोप लगाएकी छन् ।
निशाका अनुसार आइतबार बिहान भएको विवादका क्रममा आफूमाथि कुटपिट हुँदा टाउकोमा चोट लागेको छ । यस अघि पनि पटक–पटक घरमा मानिसहरू बोलाएर झैझगडा गर्ने, धम्की दिने र गालीगलौज गर्ने गरिएको उनको आरोप छ । यस्ता घटना तीनदेखि चार पटकसम्म भइसकेको उनले दाबी गरेकी छन् ।
घटनाबारे सिमरा इलाका प्रहरी कार्यालयमा जानकारी गराउँदा पनि प्रहरीले आवश्यक चासो नदेखाएको निशाको गुनासो छ । पटक–पटक प्रहरीलाई जानकारी गराउँदा समेत सुनुवाइ नभएको भन्दै उनले प्रहरी प्रशासनको भूमिका प्रति असन्तुष्टि जनाएकी छन् ।
निशाका अनुसार उनका काका वीरेन्द्र साह कानु र नैमुदिन अन्सारीबीच यस अघि नै मुद्दा चलिरहेको छ । मुद्दा विचाराधीन रहेकै अवस्थामा उनीहरूको घरमा रहेका सामान जबर्जस्ती सडकमा फालिएको र केही सामान चोरी समेत भएको उनले आरोप लगाएकी छन् ।
त्यस्तै, सुलेमान अन्सारी र नैमुदिन अन्सारीले सरकारी कार्यालयमा कार्यरत रहेको धाक देखाउँदै प्रहरी प्रशासनलाई प्रभावमा पार्ने गरेको आरोप पनि निशाले लगाएकी छन् । उनका अनुसार नैमुदिन अन्सारी वीरगञ्ज स्थित राजस्व कार्यालयमा र सुलेमान अन्सारी कलैया स्थित सरकारी कार्यालयमा कार्यरत छन् । उनीहरू चाचा–भतिजा रहेको पनि निशाको भनाइ छ ।
घटनापछि आफू असुरक्षित महसुस गरिरहेको बताउँदै निशाले सम्बन्धित प्रहरी प्रशासनसँग घटनाको निष्पक्ष छानबिन गर्न माग गरेकी छन् । कुटपिट, गालीगलौज तथा घरायसी सामानमा भएको भनिएको क्षतिको सत्यतथ्य अनुसन्धान गरी दोषी पाइएकामाथि कानुन अनुसार कारबाही गर्न उनले आग्रह गरेकी छन् । यस घटनामा आरोपित पक्ष तथा प्रहरी प्रशासनको आधिकारिक प्रतिक्रिया आउन बाकी छ ।