वीरगन्जमा हैजा फैलिँदै २८ बिरामी पुष्टि ,संक्रमण तीन वडामा फैलियो
वीरगन्ज । वीरगन्जमा हैजाको संक्रमण महामारीको रूपमा फैलिन थालेको छ।
वीरगन्जका विभिन्न अस्पतालमा झाडापखालाको उपचार गराइरहेका बिरामीहरूको परीक्षण गर्दा हालसम्म २८ जनामा हैजाको संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय, पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए। उनका अनुसार, हालसम्म वीरगन्ज महानगरपालिकाको वडा नम्बर ११, १२ र १३ का बिरामीहरूमा हैजाको जीवाणु ९भिब्रियो कोलेरा० भेटिएको छ।
संक्रमण थप फैलिन नदिन स्वास्थ्यकर्मीहरूको टोली घर–घरमा पुगेर बिरामीको खोजी गरिरहेको छ भने शंकास्पद बिरामीको परीक्षण गराइरहेको छ।
संक्रमणको सुरुवात वडा नम्बर १२, मुर्लीको नयाँ टोलबाट भएको हो। सोही टोलका करिब ३० जनामा झाडापखाला देखिएपछि उनीहरू तराई हस्पिटलमा भर्ना भएका थिए। एकैपटक धेरै बिरामी आएपछि अस्पतालले महानगरपालिकालाई खबर गरेको थियो। त्यसपछि नारायणी अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयले परीक्षण गर्दा सुरुमा तीन जनामा हैजा पुष्टि भएको थियो। उनीहरूमध्ये एक बालकको अवस्था गम्भीर रहेको बताइएको छ।
हैजा पुष्टि भएलगत्तै वीरगन्ज महानगरपालिकाले भाजा, चटपटे र पानीपुरी लगायतका ‘स्ट्रिट फुड’ बिक्रीमा पूर्ण रोक लगाएको छ। साथै, संक्रमणबाट जोगिने उपायबारे जनचेतना फैलाउन स्वास्थ्यकर्मीको टोली घर–घरमा परिचालन गरिएको छ।
यससँगै, प्रदेश र स्थानीय सरकार दुवैले हैजा नियन्त्रणका लागि आवश्यक कदम चालिरहेका छन्। स्वास्थ्य विज्ञहरूले पानी उमालेर मात्र पिउन, सरसफाइमा ध्यान दिन र कुनै लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा जान आग्रह गरेका छन्।