एमालेको देशव्यापी जनप्रदर्शनः ७५३ वटै पालिकामा मोटरसाइकल र्याली सहित नारा जुलुस
काठमाडौं — नेकपा एमालेले आफ्नो जनपरिचालन कार्यक्रम अन्तर्गत आज देशभरका ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दैछ। पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, मंगलबार प्रतिगामी षडयन्त्र विरुद्ध देशैभर कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको हो।
गौतमले भने, “२२ गते सबै ६ हजार ७ सय ४३ वटै वडामा वडा भेलाहरु सम्पन्न भइसकेका छन्। भदौ २४ पछि विकसित राजनीतिक घटनाक्रम, संसदको गैरसंवैधानिक विघटन र एमालेको आगामी बाटोबारे कार्यकर्तालाई स्पष्ट जानकारी दिइएको छ।”
आजको कार्यक्रममा सबै पालिकामा मोटरसाइकल र्याली सहित नारा जुलुस आयोजना भइरहेको छ। पार्टीले सहभागीहरुलाई एमालेको झण्डा सहित प्रदर्शनमा सहभागी हुन, घना बस्ती भएका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न, र छोटो कोणसभा गरेर वर्तमान राजनीतिक अवस्थाबारे स्पष्ट पार्न निर्देशन दिएको छ।
एमालेका अनुसार आजको जनप्रदर्शन कात्तिक २९ गते हुने जिल्ला स्तरीय आमसभा, मंसिर ६ गते काठमाडौंमा हुने प्रदर्शन र आगामी महाधिवेशनको प्रचारको रुपमा पनि हुनेछ।