ओमप्रकाश सर्राफको नेतृत्वमा जनमत पार्टी पर्सा क्षेत्र–१ मा संगठन विस्तार तीव्र

40

वीरगञ्ज, पुस १५ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टी पर्साले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक गतिविधि तीव्र बनाएको छ। पार्टीले चुनावी तयारी अन्तर्गत मतदाता भेटघाट, संगठन विस्तार तथा बुथस्तरीय कमिटी गठनलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट जनमत पार्टीका तर्फबाट सिफारिस गरिएका उम्मेदवार ओमप्रकाश सर्राफले पछिल्लो एक हप्ताभित्र क्षेत्रअन्तर्गतका विभिन्न वडामा व्यापक भेटघाट गर्दै संगठन विस्तारमा जोड दिएका छन्। उनले वीरगञ्ज महानगरपालिकाका वडा नम्बर २, १४, १५, १६, १८, २१, २३, ३१ र ३२ मा पार्टी कार्यकर्ता, स्थानीय अगुवा तथा सर्वसाधारणसँग प्रत्यक्ष संवाद गरेका छन्।

सो क्रममा सर्राफले ती वडाका बुथस्तरमा युवा, महिला तथा मूल कमिटी गठन तथा पुनर्गठन गरिएको जानकारी दिए। संगठनलाई थप सुदृढ बनाउने उद्देश्यले स्थानीय स्तरमै जिम्मेवारी बाँडफाँड गर्दै पार्टीको आधार विस्तारमा जोड दिइएको उनले बताए।

जनताको दैनिक जीवनसँग जोडिएका समस्या, विकासका अवरोध तथा प्रशासनिक झन्झट समाधान गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै सर्राफले शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी तथा आधारभूत पूर्वाधारलाई आफ्नो मुख्य एजेन्डा रहेको बताए।

भेटघाटका क्रममा स्थानीय बासिन्दाले उठाएका समस्याहरू तत्काल सम्बन्धित निकायसम्म पुर्‍याई समाधानका लागि पहलसमेत गरिएको क्षेत्र नम्बर १ का पर्यवेक्षक डा. मनोज कुमारले जानकारी दिए।

जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतको भिजन र नेतृत्वले मात्र मधेश, प्रदेश तथा देशको समग्र विकास सम्भव हुने सर्राफको दाबी थियो। उनले वैकल्पिक राजनीतिक शक्तिका रूपमा जनमत पार्टीलाई स्थापित गर्न कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका थिए।

जनमत पार्टी पर्साले आगामी दिनमा पनि घरदैलो अभियान, बुथस्तरीय बैठक तथा जनसंवाद कार्यक्रमलाई निरन्तरता दिने पर्यवेक्षक मनोज कुमारले जानकारी दिए। निर्वाचन मिति नजिकिँदै जाँदा पर्सा क्षेत्र नम्बर १ मा राजनीतिक चहलपहल बढ्दै गएको छ भने जनमत पार्टीले संगठनात्मक सक्रियतामार्फत आफ्नो उपस्थितिलाई थप सशक्त बनाउँदै लगेको देखिन्छ।

भेटघाट टोलीमा विध्यालाल प्रसाद, सीए देवराज, निराजन कुशवाहा, नागेन्द्र गुप्ता, सहनवाज राकी लगायतको सक्रिय सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.