वीरगञ्जमा धार्मिक विवादको असर, प्रहरीले सुरक्षा कडा पार्यो
वीरगञ्ज। टिकटकमा एक अर्काको धर्म–संस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी भएका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको विवादको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।
धनुषा र पर्सा सहित मधेशका आठै जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ। एक उच्च सुरक्षा अधिकारीका अनुसार परिस्थितिलाई ‘संवेदनशील’ ठहर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको हो।
केही दिन अघि जनकपुरमा हैदर अन्सारी र अमानत अन्सारी नामका दुई युवाले टिकटकमा हिन्दुस्तानको नाम उल्लेख गर्दै भिडियो पोस्ट गरेका थिए। उक्त भिडियोले धार्मिक सहिष्णुतामा खलल पुग्ने भन्दै स्थानीय अगुवाहरूले उनीहरूलाई प्रहरीको जिम्मा लगाएका थिए।
इलाका प्रहरी कार्यालय खजुरीमा दुवै पक्षबीच छलफल भइरहेका बेला पक्राउ गरिएको हुँदा केही युवाहरू आक्रोशित बने। त्यसक्रममा एक मस्जिदमा आक्रमणसमेत भएको थियो। घटनामा संलग्न व्यक्तिलाई पनि पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमले जानकारी दिए।
उक्त घटनालाई लिएर वीरगञ्जमा आज बिहानदेखि प्रदर्शन भएको छ। सुरक्षा निकायले अवस्था नियन्त्रणमा राख्न निगरानी कडा बनाएको जनाएको छ। वीरगंजका बिभिन्न स्थानमा प्रहरीको उपस्थिति बाक्लो बनाइएको छ।