सिडिओ दाहालको स्पष्ट चेतावनी: धार्मिक द्वेष फैलाउने पोस्टप्रति कडा कारबाही
वीरगञ्ज। जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सञ्जालमार्फत धर्म, जाति वा समुदायबीच द्वेष फैलाउने कुनै पनि गतिविधि नगर्न सर्वसाधारणलाई कडा चेतावनी दिएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आइतबार जारी गरेको विज्ञप्तिमा यस्ता गतिविधि बढ्दै गएको भन्दै तत्काल रोक्न आग्रह गरिएको बताउनुभयो। विज्ञप्तिमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कमजोर बनाउने सामग्री प्रकाशन तथा प्रसारण नगर्न स्पष्ट अपील गरिएको छ।
प्रशासनका अनुसार फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत प्लेटफर्ममा धर्म वा समुदाय लक्षित घृणात्मक अभिव्यक्ति, अपमानजनक सामग्री तथा अफवाह फैलाउने कार्य प्रचलित कानुन विपरीत रहेको छ। यस्ता गतिविधिहरूलाई जिल्ला प्रशासनले सूक्ष्म निगरानी गरिरहेको र संलग्न जो–कोहीलाई कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

विज्ञप्तिमा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत धर्मसम्बन्धी कसुर र धार्मिक भावनामा आघात पुर्याउने कार्य, साथै विद्युतीय कारोबार ऐन, २०६३ का प्रावधानहरू स्मरण गराइएको छ। धार्मिक स्थल, पवित्र स्थान वा सार्वजनिक नैतिकता र सद्भावमा असर पुर्याउने सामग्री प्रकाशन तथा प्रसारण गर्नेलाई कैद वा जरिवानासम्मको सजाय हुने कानुनी व्यवस्था रहेको प्रशासनले स्पष्ट पारेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार र मर्यादित व्यवहार गर्न, असत्य तथा उत्तेजक सामग्री शेयर नगर्न र समाजमा शान्ति, सहिष्णुता र सद्भाव कायम गर्न नागरिक, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताको सक्रिय सहकार्य आवश्यक रहेको बताएको छ।