युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको राजीनामा, स्वीकृत हुन बाँकी
काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)निकट ‘जेनजी’ पुरुषोत्तम यादवले गुप्ताले आइतबार (माघ ४) राजीनामा दिएका जानकारी दिए ।
“मन्त्री र म सँगै छौँ । उहाँले हिजो राजीनामा दिनुभएको हो,” यादवले बाह्रखरीसित भने ।
गएको कात्तिक ९ गते गुप्ता मन्त्री बनेका थिए । राजीनामा स्वीकृत भने हुन बाँकी रहेको उनीनिकट स्रोतहरूले बताएका छन् ।
सोमबार (माघ ५) बिहान गुप्ताले बालेन्द्र शाह (बालेन)सँगै सिरहा पुगेर मधेस आन्दोलनका सहिदको सालिकमा माल्यार्पण गरेका थिए ।
बालेन यसै दिन जनकपुरमा हुन लागेको रास्वपाको सभामा सहभागी हुँदै छन् । राजीनामा स्वीकृत हुन बाँकी रहेकाले गुप्ता भने रास्वपाको सभामा सहभागी नहुने स्रोतको भनाइ छ ।